हुम्ला जीप दुर्घटना : उपाध्यक्ष हमालको झोला भेटियो, जीप र मान्छे अझै भेटिएन

 असार ५, २०७६ बिहीबार १४:५५:५ | रमेश ऐडी
unn.prixa.net

तस्बिर - रासस

हुम्ला – हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खसेको दुई दिन बितिसक्दा पनि अवस्था थाहा हुन सकेको छैन । गोताखोरसहित सुरक्षाकर्मीले खोजी गरिरहे पनि कर्णाली नदी बग्ने भूबनोटले अप्ठ्यारो बनाएको छ ।

जीप खसेको ठाउँमा कच्ची सडकको बीचमा ठूलो ढुंगा छ । त्यो ढुंगाला छल्न चालकले स्टेरिङ देब्रे मोडेर दाहिनेतर्फ मोड्दा गति तीव्र भै जीप नदीमा खसेको अनुमान गरिएको छ । जीप खसेको स्थान कैलेवालुमा  १० मिटर फराकिलो गरी नदी बगेको छ । नदी पनि निकै गहिरो छ । 

नदीको पानी धमिलो हुनु,  पानीको बहाव तीव्र हुनु, ठूला भिर र चट्टानका कारण उद्धारका लागि थप चुनौती देखिएको छ । दुर्घटनास्थलमा सडक निर्माण कार्य भैरेहको हुँदा पनि नदी किनारमा जान सजिलो छैन ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ ज ७१६६ नम्बरको जीपको खोजी कार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगे पनि पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । 

तस्बिर - रासस

मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो ।

जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा पर्नुभएकी उपाध्यक्ष शाहीको झोलामा ६४ हजार रुपैयाँ, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

तस्बिर - रासस

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार जीपमा गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाही, खार्पुनाथ–४, छिप्राका चन्द्र हमाल, खार्पुनाथ–४, नल्लाका नैनसिंह भण्डारी, जीप चालक मणि शाही, खार्पुनाथ–५, याङ्चुका बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, खापुर्नाथ–१ का कौँरा दमाई र उनका दुई वर्षीय छोरा रहेका थिए ।  


 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया