करार कर्मचारी छनौटको जिम्मा लोकसेवालाई दिन कांग्रेसको माग

 असार ६, २०७६ शुक्रबार १४:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । 

राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्यका लागि त्यसको छनौट गर्ने जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने पनि स्पष्ट पार्नुभयो । अति आवश्यकीय सेवाका लागि मात्रै करारमा कर्मचारी नियुक्त गर्नुपर्ने पनि कांग्रेस नेता बडुको भनाइ छ । 

यस्तै सत्तारुढ नेकपाकी नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउनुभयो । उहाँले दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

आफूखुशी चल्ने सचिवहरुलाई सच्याउन पनि उनीहरुलाई दिइएको जिम्मेवारी पूरा नगरे २ वर्ष कार्यकाल कटौती गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने उहाँको तर्क छ ।

बैठकमा समितिका सदस्यहरुले विशेषज्ञता हासिल गरेका सचिवहरुलाई सम्बन्धित मन्त्रालयमै सचिव हुने कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गराएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया