नेपालमा विदेशी टेलिभिजन च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा उजुरी, पक्राउ गरेर कारबाही गर्न माग

 असार १०, २०७६ मंगलबार १४:५६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी परेकाे छ ।

उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईबीमा उजुरी दिएकाे हाे ।

उनीहरुले सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेकाले मुलुकी ऐनको दफा ६८ अनुसार हदैसम्मको कारबाही माग गरिएको मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले उजुरी गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।

 

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।

नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ ।

२०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६ (१) मा भनिएको छ– ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’

त्यस्तै यही दफाको उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ ।

ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुले नेपालमा विज्ञापन रहित प्रसारण (क्लिन फिड) नीति अवलम्बन गर्नुपर्नेछ साथै ‘डबिङ’ विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया