मदन भण्डारीकाे भाषण कस्ताे हुन्थ्याे ?

आज मदन भण्डारीकाे जन्मदिन

 असार १४, २०७६ शनिबार ८:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन नेकपा एमालेका पूर्व महासचिव एवं चर्चित वामपन्थी नेता मदनकुमार भण्डारीको जन्मदिन शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

भण्डारीको जन्मदिनको अवसरमा नेकपाका भातृ संगठन र मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरेका छन् ।

विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।

कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकण गरेर अगाडि बढाउन सफल भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ वा तत्कालीन नेकपा माओवादीले अघि सारेको ‘एक्काइसौँ शताब्दीको जनवाद’ नेकपाको मार्गदर्शक सिद्धान्त बनाउने भन्ने विषयमा अहिले बहस भैरहेको छ । नेकपाले दुवै विचारधारालाई समेटेर नयाँ मार्गदर्शक सिद्धान्त बनाउने तयारी गरेको बताएको छ ।

तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीले २०४७ साल चैत ५ गते काठमाण्डौको चाबहिलमा आयोजित सभामा गरेको बहुचर्चित सम्बोधनको अंश :

अहिले कम्युनिष्ट भयो भन्दैमा कांग्रेसीहरुले आफ्ना नातेदारलाई समेत बोलाउन छोडेको छ । गाउँगाउँमा मान्छे मरे भने कांग्रेसीहरु कम्युनिष्ट मरे भन्दै मलामी जान छोडेको छ । एउटा कुरा के हो भने झिनो बहुमतले बनेको कांग्रेसको सरकार चिरञ्जीवी छ भन्ने कुराको भ्रम अब उनीहरुले पाल्न छोडे हुन्छ ।

चाहे त्यो एकता केन्द्रको होस् या मसालको होस्, जसले यो देशमा कांग्रेसको एकाधिकारको विरोध गर्छ, जसले जनताको पक्षमा आवाज उठाउँछ, तिनीहरुप्रति हाम्रो नैतिक समर्थन हुन्छ ।

नेपालको कांग्रेसको सरकार मात्रै होइन अन्तर्राष्ट्रिय रुपमै कांग्रेसलाई निर्देशन दिने बाबुसाहेबलाई पनि तह लगाउन नेकपा एमाले तयार छ । नेपाली कांग्रेसको नीति राष्ट्रघाती छ र जनविरोधी छ । नेपाली काँग्रेसले यो देशको भूभाग विदेशहरुलाई बेचिरहेको छ । नेपाली कांग्रेसले पञ्चायतको छोरा जस्तो भएर काम गरिरहेको छ । पञ्चायतले ३० वर्षमा भन्दा धेरै दमन कांग्रेसले १० महिनामा गरेको छ ।

अहिले कांग्रेसको सरकारले २५ हजार तिरेर मान्छे मारिरहेको छ । यदि २५ हजार तिरेर मान्छे मार्न पाइन्छ भने नेकपा एमाले पनि २५ हजार जम्मा गर्न हिच्किचाउने छैन । यदि त्यसो होइन भने मृतकको परिवारलाई सरकारले तत्काल १ लाख रुपैयाँ दिनुपर्छ ।

यदि सरकारले जनपक्षीय काम गर्दैन भने गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीको कुर्सीमुनि राँको झोस्ने काम हामी गरिरहन्छौँ ।

राष्ट्रियता वा प्रजातन्त्रको मसिहा भनेको त जनता हुन् । राष्ट्रियता वा प्रजातन्त्रको भगवान भनेको त जनता हुन् । अब त्यो सार्वभौमसत्ता जनताको हातमा आइसक्यो । चाहे यहाँका ठूला महाराज हुन्, चाहे साना महाराज हुन्, सबैले जनताको सार्वभौमिकतालाई मान्नुपर्छ ।

सुन्नुहाेस् मदन भण्डारीका केही भाषण

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया