लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एकै हुन्: पूर्वराष्ट्रपति यादव

 असार १४, २०७६ शनिबार २०:२९:१७ | देव पचभैया
unn.prixa.net

पाल्पा - संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवले लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै भएको बताउनु भएको छ ।

शनिबार पाल्पाको तानसेनमा भएको दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे उहाँले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र,गणतन्त्र र समावेशीकरण एउटै भएको बताउनुभएको हो ।

संविधानले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको भन्दै पूर्वराष्ट्रपति यादवले जातीय तथा भाषिक सबै विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 
प्रेस स्वतन्त्रता बचाउन पत्रकारहरु सक्रिय हुनुपर्ने भन्दै उहाँले जुनसुकै विभेद लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक  संसदबाट फिर्ता गर्न सरकारसँग माग गर्नुभयो । लोकतन्त्रलाई  बलियो र सफल बनाउन प्रेस स्वतन्त्रता अनिवार्य रहेको उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यमा भएको कार्यक्रम आइतबारसम्म सञ्चालन हुने जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया