गाउँपालिकाको नीति ‘एक बच्चा एक खाता’

 असार १५, २०७६ आइतबार ७:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले एक बच्चा एक बैंक खाता अवधारणासहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मातृ मृत्युदर शून्यमा ल्याउनका लागि गाउँपालिकाले यस्तो नीति लिएको हो । गर्भवतीले स्वास्थ्य संस्थामा सुरक्षितरुपमा बच्चा जन्माउन र उनीहरुलाई प्रोत्साहन गर्नका लागि यो नीति अवलम्बन गरिएको हो ।

आगामी आर्थिक वर्षदेखि गर्भवतीले स्वास्थ्य संस्थामा सुत्केरी भएपछि बच्चाको नाममा गाउँपालिकाले बैंक खाता खोली पाउँदै पाएका प्रसूति प्रोत्साहन भत्तासहित थप एक हजार रुपैयाँ उपलब्ध गराउने सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यहाँका गर्भवती गाउँघरमै असुरक्षित सुत्केरी हुने र आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष हिमाली रोकायले गर्भवती तथा सुत्केरी आमालाई स्वास्थ्य संस्थामै बच्चा जन्माउन र आमा र बच्चा दुवैको ज्यान सुरक्षित होस् भन्ने उद्देश्यले गाउँपालिकाले यस्तो नीति लिएको बताउनुभयो ।

प्रसूति अर्थात् सुत्केरी हुने समय भनेको महिलाका लागि आधा मृत्यु हो यसबाट जोगाउनका लागि स्थानीय सरकारीले गर्भवतीलाई सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थासम्म ल्याउन प्रोत्साहन गरेको उहाँको भनाइ छ । यस्ता किसिमका प्रोत्साहन भत्ताले गर्भवती महिला प्रसूति हुन स्वास्थ्य संस्थामा आउने र आमा बच्चाको ज्यान सुरक्षित हुनुका साथै उक्त रकमले पोषणमा पनि सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

हिमा गाउँपालिकाले ‘छोरी बुहारी’ कार्यक्रमअन्तर्गत आगामी आवदेखि लागू हुने गरी स्वास्थ्य संस्थामा जन्मने बच्चाका लागि प्रोत्साहनस्वरुप बजेटको तर्जुमा गरेको अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुत्केरी हुने आमालाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रम रहेको छ । छोरी बुहारी कार्यक्रमले एकल महिला, अपाङ्गता भएका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमूलक तालिम सञ्चालन गर्ने र उनीहरुको जीविकोपार्जनमा टेवा पुग्ने नीति लिएको अध्यक्ष शाहीले बताउनुभयो ।

यसैगरी हिमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि ‘हाम्रो ज्येष्ठ नागरिक हाम्रा गहन’ कार्यक्रम अन्तर्गत वार्षिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता थप्ने कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिकलाई चिसो छल्न न्यानो कपडा समेत वितरण कार्यक्रम राखेको छ । गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेदनमा ‘हाम्रो कला हाम्रो पहिचान कार्यक्रम’ अन्तर्गत स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्ने प्याकेज कार्यक्रम  रहेको छ ।

शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्थानीयका समस्या बुझ्नका लागि टोलटोल बस्तीबस्तीमा नागरिकसँग अध्यक्ष कार्यक्रम, ज्येष्ठ नागरिकलाई सम्मान, उच्च शिक्षाका लागि छात्रवृत्ति, ऊर्जा सङ्कट न्यूनीकरण, पर्यटन प्रवर्द्धन, ‘एक घर एक धारा’ निर्माण रहेका छन् । गाउँपालिकाले २४ करोड २३ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । वित्तिय समानीकरणतर्फ आठ करोड ३१ लाख, प्रदेश समानीकरण, एक करोड ५० लाख र अनुदान नौ करोड रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया