देशमा गरिबी अन्त्य गर्न र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

 असार १५, २०७६ आइतबार १४:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गर्नुभयो । उहाँले गरिबी र बेरोजगारीको सामना प्रतिपक्ष/सत्तापक्ष दुवैले गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि मिलेर काम गर्न प्रमुख प्रतिपक्ष कांग्रेस पनि तयार हुनुपर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले गरेका राम्रा कामको चर्चा नगरिदिए हुने पनि बताउनु भयो । तर देशका लागि, भोलिका सन्ततिका लागि भने सबैले आ–आफ्नो ठाउँबाट सकेको योगदान दिनुपर्ने उहाँको भनाइ छ । आइतबारबाट काठमााण्डाैमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री आफूले गरेका राम्रा कामको चर्चा नगर्दा हुने तर सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन भने सबै लाग्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई जीवन उपयोगी बनाएर देशमा गरिबी अन्त्य गर्ने र रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भयो । त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुनेगरी शिक्षण संस्थाहरुको स्थापना गर्ने पनि याेजना पनि उहाँले सुनाउनुभयाे । उहाँले देशमा रोजगारीको अवसर सृजना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिइएको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारीको अवसर अधिकतम सृजना गर्न र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा विज्ञहरुले रोजगारीको अवसर सृजना हुने खालका विभिन्न क्षेत्रका पहिचानसहितको कार्यपत्र प्रस्तुत गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया