जायराले बलिउड छाेड्दा बंगलादेशी लेखिका तसलिमाकाे यस्ताे प्रतिक्रिया

 असार १६, २०७६ सोमबार १५:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ मा अभिनय गरेकी जायरा वसीमले बलिउड उद्योग छोड्ने निर्णय गरेकी छिन् । 

जायराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक लामो चिठी लेखेर सेयर गरेकी छिन् । उनले बलिउड उद्योगमा पाँच वर्ष पूरा गरिसकेको बताएकी छिन् । साथै उनले पाँच वर्ष अघि लिएको निर्णयले जीवन परिवर्तन गरिदिएको बताएकी छिन् । 

उनलाई बलिउडले पैसा, पावर, सम्मान र धेरै माया दिएको तर आफूले त्यो कहिल्यै नचाहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘म यहाँ घुलमिल भैरहेकी छु तर वास्तवमा म यहाँकी होइन । यसले मेरो इमानबाट मलाई टाढा लगिरहेको छ ।’ जायराले इन्स्टाग्राममा ६ पानाको चिठी लेख्दै कुरानको बारेमा पनि बताएकी छिन् । उनका अनुसार उनको अभिनय करियरले उनलाई अल्लाहबाट टाढा बनाइरहेको छ । 

जायराको त्यो पोष्ट हेर्दा बलिउड उद्योगबाट बिदा हुन लागेको प्रष्ट हुन्छ । उनले लेखेकी छिन्, ‘म फिल्म उद्योग छोडेर इस्लाम धर्मको दुनियाँमा आफ्नो पूरा ध्यान केन्द्रित गर्न चाहन्छु ।’ यस्तो छ जायराको पोष्टः 

जायराले इन्स्टाग्राममार्फत फिल्मी करियरले उनलाई इमान र इस्लाम धर्मप्रतिको आस्थाबाट टाढा लगिरहेकाले फिल्म उद्योग छोड्न चाहेको बताएकी छिन् । उनको यो निर्णयपछि सामाजिक सञ्जालमा बलिउड कलाकार तथा अन्य व्यक्तिहरुले आफ्ना तर्कहरु राखिरहेका छन् । 

तीमध्ये केहीले जायराले गरेको निर्णय सही भनिरहेका छन् भने केहीले त्यस निर्णयलाई मुर्खतापूर्ण बताइरहेका छन् । यसैबीच बलिउड अभिनेत्री रबिना टण्डनले पनि प्रतिक्रिया दिएकी छिन् ।

रवीनाले जायराले उनलाई जुन फिल्म उद्योगले पहिचान दियो, त्यही फिल्म उद्योगको बारेमा नकारात्मक किसिमको कुराहरु लेखेको भन्दै दुःख व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘दुई फिल्म मात्रै गरेका व्यक्तिहरु यदि सबैथोक दिने उद्योगप्रति बेइमान हुन्छन भने यस कुराले केही फरक पार्दैन । आशा गर्छु कि उनीहरु ससम्मान यहाँबाट जाऊन् र आफ्ना पिछडिएका विचार आफूसम्मै सीमित राखून् ।’

जायरा वसीमको यस्तो निर्णयप्रति बंगलादेशी लेखिका तसलिमा नसरिनले पनि चिन्ता व्यक्त गरेकी छिन् । उनले पनि ट्वीट गर्दै लेखेकी छिन्, ‘बलिउडकी प्रतिभाशाली अभिनेत्री जायरा वसीम अब अभिनय छोड्न चाहन्छिन् किनकि उनलाई अभिनय करियरका कारण अल्लाहप्रति उनको विश्वास नष्ट भैरहेको लाग्छ । यो निकै नै बेवकुफीपूर्ण निर्णय हो । मुस्लिम समुदायका कैंयौ प्रतिभाहरुलाई बुर्काको अन्धकारमै सीमित बनाउन बाध्य बनाइन्छ ।’

जायराको यो पोष्टपछि अहिले धेरैको ध्यान आमिर खानतर्फ छ । मानिसहरु जायराको निर्णयप्रति आमिर खानको प्रतिक्रिया जान्न चाहन्छन् । किनकि जायरा वसीमले उनको अभिनय करियर आमिर खानको फिल्म ‘दंगल’ बाट सुरु गरेकी हुन् । त्यो फिल्ममा जायराले आमिर खानकी छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘दंगल’ पछि आमिरले उनको अर्को चलचित्र ‘सिक्रेट सुपरस्टार’मा पनि जायरालाई मौका दिएका थिए, जसमा जायरा वसीम प्रमुख भूमिकामा थिइन् । चलचित्रमा जायरा वसिमको भूमिका र अभिनय दर्शकले निकै मन पराएका थिए । 

यस बाहेक जायरा छिट्टै नै प्रियंका चोपडाका साथ चलचित्र ‘द स्काई इज पिंक’ मा देखिनेछिन् । यो चलचित्रको छायाँकन पनि उनले सिध्याइसकेकी छिन् । चलचित्रमा जायरा वसीम, प्रियंका चोपडासहित फरहान अख्तरको पनि मुख्य भूमिका रहनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया