राहुल गान्धीले दिए भारतीय कांग्रेसकाे अध्यक्षबाट राजीनामा

 असार १८, २०७६ बुधबार १८:३५:१४ | एजेन्सी
unn.prixa.net

राहुल गान्धीले बुधबार कांग्रेस अध्यक्षको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 

राहुलले राजीनामाको घोषणा गर्दै भर्खरै सम्पन्न लोकसभा चुनावको हारको जिम्मा पनि आफैले नै लिएका छन् ।  कांग्रेस पार्टीलाई फेरि उठाउनका लागि कडा फैसलाको जरुरी पर्ने बताउँदै राहुलले नयाँ नेतृत्वले पार्टीको साहस, प्रेम र इमानदारीलाई अझ बढाउने विश्वास व्यक्त गरेका छन् । 

राजीनामा दिएलगत्तै राहुलले नयाँ अध्यक्ष छान्ने जिम्मा एउटा समूहलाई दिइनुपर्ने बताएका छन् । त्यही समूहले नयाँ अध्यक्षको चयन गर्ने उनले भनेका छन् ।

पढ्नुहोस् राहुल गान्धीको त्यो पत्र –

कांग्रेसको लागि काम गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो, जसको आदर्श हाम्रो देशको लागि जीवनशक्ति हो । ममाथि पार्टी र देशले दिएको मायाको ऋण छ र म यसको एक अंश हुँ ।

कांग्रेसको प्रमुख भएको नाताले २०१९ को लोकसभा चुनावमा हारको जिम्मेवारी मेरो हो । भविष्यमा पार्टीको विस्तारको लागि जवाफदेहिता निकै महत्वपूर्ण हुन्छ । यही कारणले नै मैले कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको हुँ ।

कांग्रेस पार्टीका कैयौँ सहयोगीले मलाई अध्यक्षका लागि चुनाव गराउन भनेका छन् । पार्टीको नयाँ अध्यक्ष मैले चयन गर्नु मेरा लागि पनि ठिक हुँदैन । हाम्रो पार्टीको विशाल इतिहास तथा विरासत रहेको छ । म यसको संघर्ष र मर्यादाको आदर गर्छु ।  कांग्रेस पार्टी हाम्रो देशको निर्माणसँगै बनेको हो । 

मलाई भरोसा छ कि पार्टीले नयाँ नेतृत्वको बारेमा सही निर्णय लिनेछ । नयाँ नेतृत्वले पार्टीलाई साहस, प्रेम तथा इमानदारीपूर्वक अगाडि बढाउनेछन् भन्नेमा म ढुक्क छु । 

राजीनामा दिएसँगै मैले कांग्रेस वर्किङ कमिटीमा नयाँ अध्यक्ष चयनको जिम्मेवारी एउटा समूहलाई दिऊँ भन्ने सल्लाह दिन्छु । त्यही समूहले नयाँ अध्यक्ष चयन गर्नेछ । यस विषयमा मैले पूर्ण सहयोग गर्नेछु । यसरी कांग्रेसको नेतृत्व सहजै परिर्वतन हुनेछ । 

मेरो संघर्ष केवल सत्ता  प्राप्तिका लागि होइन । बीजेपीविरुद्ध मेरो मनमा कुनै घृणा छैन । तर भारतका बारेमा बीजेपीको विचारको मेरो रौँ रौँले विरोध गर्दछ । 

मैले विरोध गर्छु किनकी मेरो अस्तित्व एक यस्तो भारतीय विचारबाट ओतप्रोत छ जो उनीहरुको भारतप्रतिको विचारसँग मेल खाँदैन । यो कुनै नयाँ लडाइँ होइन । हाम्रो धरतीमा हजारौँ वर्षदेखि लडिँदै आएको लडाइँ हो । जहाँ उनीहरु पृथकतावाद देख्छन्, त्यहाँ म समानता देख्छु । जहाँ उनीहरु घृणा देख्छन् त्यहाँ म प्रेम देख्छु । जुन चिजदेखि उनीहरु डराउँछन्, त्यो चिज म अपनाउँछु ।

यस्तै सहानूभूतिवाला विचार लाखौँलाख मेरा प्यारा देशवासीको मनमा पनि रहेको छ । यही हो भारतको त्यो विचार जसलाई हामीले आफ्नो बलबुताले भ्याएसम्म रक्षा गर्नेछौँ ।

हाम्रो देश र हाम्रो संविधानमाथि आक्रमण भैरहेको छ । उनीहरु हाम्रो राष्ट्रको संरचना नष्ट गर्ने डिजाइनमा काम गरिरहेका छन् । 

यो लडाइँबाट म कुनै पनि प्रकारले पछि हटेको छैन । म कांग्रेस पार्टीको एक इमानदार सिपाही तथा भारतको समर्पित छोरा हुँ । म आफ्नो अन्तिम सास रहेसम्म यसको सेवा र रक्षा गर्नेछु । 

हामीले एउटा तीतो र प्रतिष्ठित चुनाव लड्यौँ । हाम्रो चुनाव प्रचार भारतका सबै नागरिक, धर्म र सम्प्रदायका लागि भाइचारा, सहिष्णुता तथा सम्मानवाला थियो । 

मैले आफ्नो दमले भ्याएसम्म व्यक्तिगत रुपमा प्रधानमन्त्री, आरएसएस तथा ती संस्थासँग लडिरहेँ जुन उनीहरुले कब्जा गरेका छन् । म लडेँ किनकी म भारतलाई माया गर्छु । जुन आधारमा भारत खडा भएको छ त्यसलाई बचाइराख्न पनि म लडेँ । 

एक समय पूर्णरुपमा म एक्लै पनि लडेँ । त्यसमा पनि मलाई गर्व छ । मैले पार्टीका कार्यकर्ता, सदस्य, पुरुष तथा महिलाको साहस तथा समर्पणबाट धेरै कुरा सिकेँ । उनीहरुले मलाई माया गरे र विनम्रता सिकाए । 

चुनाव पूर्ण रुपमा स्वतन्त्र र निष्पक्ष हुन देशका सबै संस्था निष्पक्ष रहनु अनिवार्य छ । स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका तथा एक पारदर्शी चुनाव आयोगबिना कुनै पनि चुनाव निष्पक्ष हुन सक्दैन । सबै वित्तीय संसाधन एउटै पार्टीको कब्जामा भएको अवस्थामा स्वतन्त्र चुनावको परिकल्पना गर्न सकिँदैन ।

हामीले सन् २०१९ मा केवल एउटा राजनीतिक पार्टीसँग मात्रै लडेनौँ, हामीले भारत सरकारको पूरै संयन्त्रविरुद्ध चुनाव लड्नुपर्‍याे । हरेक संस्थालाई विपक्षीविरुद्ध खडा गरियो । यो कुरा प्रष्ट छ कि भारतीय संस्थाको जुन निष्पक्षताको हामीले प्रशंसा गर्थ्यौँ त्यो निष्पक्षता अब रहेको छैन ।

देशका सबै संस्थामाथि कब्जा गर्ने आरएसएसको अभिष्ट अब पूरा भएको छ । हाम्रो लोकतन्त्र मौलिक रुपमा निकै कमजोर भएको छ । भारतको भविष्य निर्धारित गर्ने चुनाव अब केवल औपचारिकतामा मात्रै सीमित भएको छ ।

सत्तामा रहिरहनका लागि भारतले अब अकल्पनीय हिंसा र पीडा सहनु परेको छ । किसान, बेरोजगार, युवा, महिला, आदिवासी, दलित तथा अल्पसंख्यक समुदायले सबैभन्दा बढी पीडा सहनुपर्‍याे । 

हाम्रो देशको अर्थव्यवस्था तथा साखमाथि पनि यसले ठूलो असर पुर्‍यायो । 

प्रधानमन्त्रीको यो जितको अर्थ यो होइन कि उहाँ भ्रष्टाचारको आरोपबाट मुक्त हुनुभयो । कसैले जति नै सुकै पैसा खर्च गरोस वा प्रोपोगाण्डा फैलाओस्, सत्यलाई लुकाउन सक्नेछैन । भारतका संस्थाहरुलाई पुनः प्राप्त गर्न र ती संस्थालाई पुनर्जीवित गर्न फेरि एकपटक पूरा भारत एक हुनु आवश्यक छ । ती संस्थालाई पहिलेकै अवस्थामा ल्याउन कांग्रेसले संघर्ष गर्नेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया