दलाई लामाले ‘जोक’ गरेपछि...

 असार १८, २०७६ बुधबार २०:४:११ | एजेन्सी
unn.prixa.net

तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारी महिला हुने भन्नेबारे दिएको टिप्पणीप्रति माफी मागेका छन् । 

केही दिनअघि बीबीसीसँगको कुराकानीमा दलाई लामाले भविष्यमा आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने बताएका थिए । कुराकानीमा उनले ती महिला भने सुन्दर हुनुपर्ने बताएका थिए ।

तर केही दिनमै उनको कार्यालयले उनको अभिव्यक्तिप्रति माफी मागेको छ । कार्यालयले दलाई लामाले यस विषयमा ठट्टा(जोक) मात्रै गरेको स्पष्ट पारेको छ । कार्यालयले भनेको छ, ‘उहाँको अभिव्यक्तिले मानिसहरुमा पर्न गएको चोटप्रति उहाँले दुःख व्यक्त गर्दै माफी माग्नु भएको छ ।’ 

गएको हप्ता बीबीसीसँग कुरा गर्दै तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, तिब्बत फर्कने उनको सपना र शरणार्थीका बारेमा चर्चा गरेका थिए ।

अरु टिप्पणीमा विवाद नभए पनि महिला उत्तराधिकारीबारे उनले दिएको अभिव्यक्ति भने विवादित बनेको थियो । दलाई लामाले बीबीसीसँग हाँस्दै भनेका थिए, ‘यदि महिला दलाई लामा आइन् भने उनी निकै सुन्दर हुनुपर्छ ।’

दलाई लामाको कार्यालयले ठट्टालाई गलत रुपमा बुझिएको भन्दै माफी मागेको छ । उनको कार्यालयले एउटा सांस्कृतिक सन्दर्भमा गरेको ठट्टा अर्को भाषामा रुपान्तरण गर्दा अनर्थ लाग्न गएको स्पष्टीकरण दिएको छ । कार्यालयले निकालेको वक्तव्यमा विगतमा पनि दलाई लामाले लैङ्गिक समानताका पक्षमा आवाज उठाएको र महिलालाई केवल बस्तुका रुपमा हेरिने कार्यको विरोध गर्दै आएको जनाइएको छ । 

युरोपेली युनियनमा रहेका तिब्बती शरणार्थी घर फर्किनुपर्छ भन्ने विषयमा दिएको अभिव्यक्ति पनि गलत रुपमा बुझिएको वक्तव्यमा जनाइएको छ ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पप्रति दिएको अभिव्यक्तिबारे भने केही भनिएको छैन । दलाई लामाले ट्रम्पमा ‘नैतिकताको अभाव’ भएको अभिव्यक्ति दिएका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया