घोच्ने आतङ्क : धनुषामा विद्यालय हिँडेका शिक्षकमाथि सिरिञ्ज आक्रमण भएको आश‌ंका

 असार २०, २०७६ शुक्रबार ७:१७:३५ | रासस
unn.prixa.net

धनुषा – काठमाण्डाैमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि भएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई नचिनेको मानिसले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो । बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिञ्जजस्तो तिखो वस्तुले घोचेको उहाँले बताउनुभयो ।

घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भन्नुभयो, “पुलको पारिपट्टि मोटरसाइकल रोकेर दुई जना बसेका थिए । केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ, मेरो मोटरसाइकल रोकिने बित्तिकै ‘हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो ।”

तिखो वस्तुले घोचेपछि एकछिन आँखा देख्न नसकेको चारैतिर अँध्यारो भएको उहाँको भनाइ छ । “मैले समाचारमा यस्तो घटनाबारे पढेको थिएँ । आफैँ त्यसको शिकार भइयो”, उहाँले भन्नुभयो, “एकछिन त आँखै देखिनँ । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए ।”

घटनापछि ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरु भागेको शिक्षक अधिकारीले बताउनुभयो । यता, प्रहरीले यो कार्यमा संलग्नको खोजी कार्य जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गर्नुभयो ।

केही सातायता काठमाण्डाै उपत्यकामा भएको यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । पीडितले सिरिञ्ज आक्रमण भएको बताए पनि कार्कीले काँटीले घोचेको बयान दिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया