हवाई जहाजकाे कुन भागमा लुकेर यात्रा गर्छन् मानिसहरु ?

 असार २१, २०७६ शनिबार १२:५५:४ | एजेन्सी
unn.prixa.net

गएको आइतबार दिउँसो लण्डनको एउटा बस्तीमा रहेको बगैँचामा आकाशबाट एक जना मान्छे खसे । भुईँमा खस्दा उनको मृत्यु भैसकेको थियो तर शवमा कुनै चोटपटक भने थिएन । एक प्रत्यक्षदर्शीका अनुसार उनको शव ‘जमेको बरफ’ जस्तै भएको थियो ।

प्रहरीका अनुसार ती व्यक्ति नैरोबीबाट हिथ्रो विमानस्थल आउँदै गरेको केन्या एअरवेजको ल्याण्डिङ गियरमा बसेर यात्रा गरेका थिए । जहाजको ल्याण्डिङ गियर भनेको पांङ्ग्रा ती पार्ट्स हुन् जो ल्याण्डिङ गर्ने बेलामा खुल्दछन् ।

जमिन र समुन्द्र हुँदै त युरोप अमेरिका जानेको बारेमा त धेरै सुनिएकै छ ।  तर हवाई जहाजको ल्याण्डिङ गियरमा लुकेर यात्रा गर्ने भने कमै हुन्छन् । उड्डयन मामिलामा लामो समय रिपोर्टिङ गरेका पत्रकार डेभिड लिभरमाउन्ट भन्छन्, ‘यस प्रकारको यात्रामा ज्यान जोगाउने कुरा निकै कठिन हुन्छ ।’

यस्तो उडानमा के हुन्छ ?

लिभरमाउन्टले बीबीसीसँग भनेका छन्, ‘ल्याण्डिङ गियरमा लुकेर यात्रा गर्दा जहाजले टेक अफ गर्ने बेलामा पाङ्ग्राले कुल्चिने सबैभन्दा ठूलो खतरा हो ।’ 

बीबीसीका रब वाकर विमानकाे त्याे भागमा पुगेर अवलाेकन गर्दै जुन भागमा लुकेर केही मानिस यात्रा गर्छन् ।

त्यस्तै उनका अनुसार यस्तोमा गर्मीले ज्यान जान पनि सक्छ । गर्मी मौसममा पाङ्ग्राको ब्रेकको तापक्रम निकै माथि हुन्छ । यस्तोमा तपाईँले हाइपोथर्मिया अर्थात तापमान र अक्सिजनको कमीको सामना गर्नुपर्छ । 

लिभरमाउन्टका अनुसार यस्तो ठाउँ क्याबिनजस्तो वातानुकूलित हुँदैन । लामो दूरीको उडान छ भने जहाज निकै उचाइबाट उड्ने गर्छ । यस्तोमा ल्याण्डिङ गियरको तापक्रम माइनस ५० डिग्रीदेखि माइनस ६० डिग्रीसम्म पुग्ने सम्भावना हुन्छ । शरीर नै जम्ने चिसो त छँदैछ, त्यसका अलावा अक्सिजनको पनि कमी हुन्छ । यस्तोमा सास लिन निकै गाह्रो हुन्छ । 

यस्तो अवस्थामा जो यात्री कुनै प्रकारले बाँच्न सफल भएका हुन्छन्, उनीहरुले पनि विमान ल्याण्डिङ गर्ने बेलामा निकै सतर्कता अपनाउनु पर्दछ । विमान ल्याण्डिङ गर्ने बेलामा पाङ्ग्रा भएको ठाउँ खुल्छ र त्यसबेलामा यात्रीले निकै सतर्क हुनु जरुरी छ ।

लिभरमाउन्टका अनुसार यस्तो यात्रा गर्ने धेरैजना खस्छन् । कोहीको त ज्यान गैसकेको हुन्छ भने धेरै बेहोस् भएका हुन्छन् त्यसैले उनीहरुले आफूलाई सम्हाल्न पाउँदैनन् । 

कति बाँच्छन् ?

उड्डयन मामिलाका विशेषज्ञ एलेस्टेयर रोसेनशीनका अनुसार यस्तो अवस्थामा बाँच्ने सम्भावना निकै न्यून अथवा लगभग शून्य नै हुन्छ । अमेरिकी संघीय उड्डयन प्राधिकरणले सन् १९४७ जुलाई २ देखि जुलाई २०१९ सम्मका यस्ता घटनाको तथ्याङ्क जम्मा पारेको छ । 

यस अवधिमा ११२ उडानमा १२६ यस्ता घटना घटेका छन् । आफ्नो ज्यान जोखिममा राखेर यात्रा गरेका १२६ यात्रीमध्ये ९८ जनाको ज्यान गएको छ । तर २८ यात्रीले भने ज्यान जोगाउन सफल भएका छन् । 

अधिकांश मृत्यु टेक अफका क्रममा खसेर भएको छ भने केही मृत्यु पाङ्ग्राले कुल्चिएर भएको छ । 

प्राधिकरणको तथ्याङ्कअनुसार यस्तो घटना विश्वका विभिन्न ४० देशमा भएको हो । त्यसमा क्यूबामा ९, चीनमा ७, डोमिनिकन रिपब्लिकमा ८, दक्षिण अफ्रिकामा ६ तथा नाइजेरियामा ६ ओटा घटना घटेका थिए । 

आकाशबाट खसेर मृत्यु

लण्डनको विमानस्थलमा आकाशबाट खसेर ज्यान गएको यो पहिलो घटना भने होइन । जुन २०१५ मा पश्चिमी लण्डनको व्यावसायिक इलाकामा एउटा छतमा एक व्यक्तिको शव भेटियो । पछि थाहा भयो ती व्यक्ति ४२७ मिटर उचाइबाट खसेका रहेछन् । उनका साथी गम्भीर अवस्थामा फेला परे । यी दुई यात्री जोहानसबर्गबाट ब्रिटिस एअरवेजमा लुकेर यात्रा गरेका थिए ।

सन् २०१२ को सेप्टेम्बरमा पनि मोजाम्बिकका एक व्यक्तिको शव लण्डनको सडकमा भेटिएको थियो । उनी अंगोलाबाट हिथ्रो आउँदै गरेको जहाजबाट खसेका थिए । त्यही साल दक्षिण अफ्रिकाको केपटाउनबाट आउँदै गरेको जहाजबाट एक यात्री खसेका थिए । 

यस्तो यात्रामा कति बाँचे ?

विशेषज्ञहरुले यस्तो यात्राको परिणाम मृत्यु नै हो भनेर ठोकुवा गरे पनि केही अपवादका घटना छन् । तर बाँच्नेहरुमा पनि घाइते हुने, हातखुट्टा नै काट्नुपर्ने अवस्था सिर्जना हुन्छ । 

छोटो दूरीका उडानमा त्यसरी यात्रा गर्ने यात्रीको बाँच्ने सम्भावना धेरै हुन्छ । 

सन् २०१० मा २० वर्षीय एक रोमानियाली नागरिक भियनाबाट प्राइभेट जेटको ल्याण्डिङ गियरमा लुकेर सफलतापूवर्क हिथ्रो विमानस्थल पुगेका थिए ।

सन् २०१५ मा जोहानसबर्गबाट हिथ्रोसम्म १२ हजार ८ सय ७५ किलोमिटरको हवाई यात्रा गरेका एक व्यक्ति ल्याण्डिङ गियरमा बेहोस अवस्थामा भेटिएका थिए । 

सन् १९६९ मा २२ वर्षीय अर्मान्डो सोकारास रमीरेज क्यूबाको हवानाबाट स्पेनको मड्रिड सफलतापूर्वक पुगेका थिए । 

सन् १९९६ मा २३ वर्षीय प्रदीप सैनी दिल्लीबाट लण्डनको १० घण्टाको उडानमा बाँच्न सफल भए तर उनका भाइ विजयले भने हिथ्रो विमानस्थल नजिकै खसेर ज्यान गुमाए ।

सन् २००० मा तहिटीबाट लस एञ्जलससम्म बोइङ ७४७ मा ४ हजार माइलको यात्रा गरेका फिदेल मारुही पनि सुकुशल भेटिए । 

सन् २००२ मा क्यूबाबाट क्यानडासम्म ल्याण्डिङ गियरमा लुकेर यात्रा गरेका २२ वर्षीय भिक्टर पनि सफलतापूर्वक नै पुगेका थिए । 

सन् २०१४ मा क्यालिफोर्निया सान जोसे विमानस्थलबाट हवाईको माउईसम्म ल्याण्डिङ गियरमा बसेर यात्रा गर्ने १५ वर्षीय याहया आब्दी पनि बाँचेका थिए । 

यस्तो यात्रा कसले गर्छन् ?

लिभरमाउन्टका अनुसार टेक अफ गर्नुभन्दा पहिले विमानको पुरै जाँच हुन्छ । सामान्यतयाः यो जाँच ग्राउण्ड स्टाफ, क्रू मेम्बरबाट हुने गर्छ । यस्तो अवस्थामा अन्तिम समयमा विमानको ल्याण्डिङ गियरमा गएर कोही बस्न सक्छ । 

लिभरमाउन्टका अनुसार संवेदनशील समयमा समेत विमानसम्म पहुँच भएका व्यक्तिले विमानसम्म पहुँच राख्छन् । तर उनीहरुलाई यस्तो यात्रा कति खतरापूर्ण हुन्छ भन्ने कुरा हेक्का हुँदैन ।

-बीबीसी हिन्दीबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया