'भारत र चीनजस्ता दुई छिमेकी देशको बीचमा रहेर पारमाणविक भट्टी सञ्चालन गर्नु गम्भीर र संवेदनशील कुरा हाे'

 असार २३, २०७६ सोमबार १५:३३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् । 

प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूलाठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । 

प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी देशको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टीको स्थापना र सञ्चालन संवेदनशील विषय भएकाले त्यसतर्फ सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गर्नुभयो । युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उहाँको भनाइ थियो । 

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाेधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्नसक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने स्पष्ट पार्नुभयो ।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक ठिक भए पनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताउनुभयो । उहाँले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि सञ्चालन गर्नसक्ने प्रावधान राखिएको छ । त्यसप्रति पनि विज्ञहरुको आपत्ति छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया