मलाई तीन जना सचिवले डुबाए, त्यसैले विषादी परीक्षण राेकियाे : मन्त्री यादव

 असार २३, २०७६ सोमबार १६:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । 

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गर्दै सचिवहरुको भर पर्दा आफू विषादी परीक्षण नगर्ने निर्णयका कारण डुबेको पनि बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू डुबेको मन्त्री यादवको दावी छ । 

यद्दपि मन्त्री यादवले उक्त निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पार्नुभयो । उहाँले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराउनु भयो ।

मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताउनु भयो । आफूले ती विषयमा अध्ययन नगरी निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवले स्वीकार गर्नुभयो । आफूले हरेक निर्णय राष्ट्रको हितमा गरेको बताउँदै विषादी परीक्षण नगर्ने निर्णय कसैको दबावमा परेर नगरेको पनि पटक पटक दोहोर्‍याउनु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवका कारण उक्त निर्णयमा गल्ती हुन पुगेको स्पष्टीकरण दिनु भएको थियो । 

सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया