आमा र हजुरआमाको हत्यामा जन्मकैद

 असार २४, २०७६ मंगलबार ८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । 

उनले विसं २०७५ पुस २ गते आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काएर हत्या गरेका थिए । 

बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसुरमा अदालतले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना भएको बताइएको छ । दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार यो फैसला भएको हो ।

मुुलुकी अपराधसंहिता २०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्यान मार्ने उद्योगतर्फ सोही संहिताको दफा १८३ (१)को कसूरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको जनाइएको छ ।

घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करिब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए । 

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो ।

आमाको ज्यान गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालोले हिर्काएर घाइते बनाएका थिए । जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो । 

छिमेकीलाई आतङ्कित पारेको भन्ने सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीलाई समेत बालारामलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो । 
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया