प्रधानमन्त्री ओलीलाई नेविसंघले पठायाे 'विषादीयुक्त ' तरकारी उपहार !

 असार २४, २०७६ मंगलबार १७:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दबाब दिएको छ । 

नेविसंघले मंगलबार काठमाण्डौको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै त्याे निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा  निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले नागरिकलाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने  निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिनुभयो । त्यस अवसरमा नेविसंघले सरकारले भारतको दबाबमा त्याे निर्णय लिएको दावी गर्दै व्यङ्ग्यस्वरुप प्रधानमन्त्री ओलीलाई विषयुक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत् उपहार पठाएको छ ।

नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ । नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषादी परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा उहाँको आपत्ति छ ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया