वर्षा र भेलले काठमाण्डौमा गाडी गुडाउन र पैदल हिँड्न समस्या

 असार २७, २०७६ शुक्रबार १४:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाले काठमाण्डौका सडकमा गाडी चलाउन र पैदल हिँड्न समस्या भएको छ । ठाउँठाउँमा सडकमै भेल बगेको छ भने कतिपय सडक जलमग्न भएका छन् ।

सिंहदरबारको पूर्वी गेटमा पर्खाल भत्केको छ । पर्खाल भत्केपछि सिंहदरबार आसपास, अनामनगर, हनुमानस्थान, थापागाउँ चल्ने गाडीको चाप छ । अहिले पर्खाल हटाउने काम भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ललितपुरको पुल्चोकमा पनि गाडी चापमा चलेका छन् । बिहान पुल्चोकमा रुख ढलेपछि जाम बढेको हो । अहिले रुख हटाइसकेको तर कुपण्डोल, हरिहरभवन, जाउलाखेल, लगनखेल चल्ने गाडी चापमा रहेका महाशाखाले जनाएको छ ।

त्यसैगरी कोटेश्वर तीनकुने क्षेत्रमा पानी जमेर समस्या भएको छ । बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थलीसम्म नै गाडीको जाम रहेको छ । त्यस्तै काठमाण्डौको चुच्चेपाटीमा खाल्डाखुल्डीका कारण पानी जमेर सडक अस्तब्यस्त बनेको छ । 

चुच्चेपाटी क्षेत्रमा पनि गाडीको जाम छ । गुर्जुधारा–सतुङ्गल सडकखण्डमा पनि पानी जमेको छ । केही दिनअघि सडकमा ढलान गरेको, तर त्यसैमाथि पानी जमेर गाडी जाम भएको महाशाखाले जनाएको छ । महाशाखाले जाम रहेको क्षेत्रमा सकेसम्म वैकल्पिक व्यवस्था खोज्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया