ट्रम्पसँगकाे चर्काचर्कीपछि जेलेन्स्कीकाे प्रतिक्रिया– ‘विवाद राम्र...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि ८ जनाको ज्यान गएको छ । त्यस्तै बाढीले बगाएर चार जना हराइरहेका छन् ।
पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको हो ।
यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको थाहा नगरपालिका–७, आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको ज्यान गएको छ । थाहा नगरपालिका वडा नम्बर–३, मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको ज्यान गएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उपचारका क्रममा अस्पतालमा उनको ज्यान गएको हो ।
।
मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–१, मा पहिरोले एउटा गुडिरहेको कार परेको छ । कारमा रहेका व्यक्तिको उद्दार गरिएको छ ।
खोटाङमा तीन जना बेपत्ता
पहिरोले घर पुरिएपछि खोटाङको खोटेहाङ गाउँपालिका–२, वाप्लुखामा तीन जना हराएका छन् । बिहान पहिरोले विष्णु राईको घर पुर्दा उहाँकी श्रीमती रेखा राई र दुई नावालक छोरा हराएको प्रहरीले जनाएको छ । भागेर ज्यान बचाएका बिष्णु राईको पनि हातमा चोट लागेको उद्दारका लागि घटनास्थलमा खटिनु भएका खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।
यस्तै, हिजो बेलुकी बाढीले डाइभर्सन बगाउँदा मोरङमा मोटरसाइकलमा आएका एक जनालाई खोलाले बगाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।
त्रियुगाको बाँध जोखिममा
उदयपुरको त्रियुगा नदीमा रहेको बाँध जोखिममा परेको छ । उदयपुरकै कटारी नगरपालिका–१४, भदौरेखोलामा बाढी आएर सडकमा पसेपछि बेतिनी र घुर्मीमा गाडी चल्न सकेका छैनन् । लगातारको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
त्यस्तै जनकपुर पनि जलमग्न भएको छ । यस्तै,रौतहटमा बागमती र लालबकैया नदीमा बाढी आउँदा धेरै बस्ती डुबानमा परेका छन् ।
यस्तै रुपन्देहीको तिनाउ नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बसोबास गरेका झण्डै चार हजार घरधुरी बाढीको उच्च जोखिममा छन् । रुपन्देहीमा तिनाउ, कञ्चन, दानव, रोहिणी, घोडाहा, डण्डा, बघेला नदीमा पानीको सतह बढेको छ ।
प्रदेश १ का झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बाढीका कारण धेरै प्रभावित भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार तराईका जिल्लाहरुमा डुवान समस्या रहेको छ । विराटनगर महानगरपालिकाको सिँघिया खोला किनारमा बसोबास गर्ने ५० परिवारका २ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । सुनसरीमा हरिनगरा गाउँपालिका–५, सुकसेना टोलमा बसोबास गर्ने ६० परिवार विस्थापित भएका छन् ।
भीमफेदीका २६ जना उद्धारको पर्खाइमा
मकवानपुरको भीमफेदी गाउंँपालिका वडा नम्बर–५, माथिल्लो दमारका २६ जना पहिरोको बीचमा फसिरहेका छन् ।
लगातार परेको पानीले घर वरिपरिबाट पहिरो गएको र पहिरोको बीचमा पाँच घरका २६ जना उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोमबहादुर घलान लगायतका ५ जनाको घर परिवारका २६ जना सदस्य जोखिमयुक्त ठाउँमा रहेका छन् ।
सडकमा क्षति
यस्तै पहिरोले देशका विभिन्न सडकमा पनि क्षति गरेको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाँउपालिका–५ खनियाखर्क र सुनकोशी गाँउपालिका–१ कमेरेफाँटमा बिहान गएको पहिरो पन्छाउन नसक्दा अझै गाडी चल्न सकेको छैन ।
बाटो बन्द हुँदा पूर्वी तराईसहित रामेछाप, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट काठमाण्डौ आउने जाने गाडी र यात्रु बीच सडकमा नै अलपत्र परेका छन् । वर्षा, बाढी र पहिरोका कारण हेटौंडा–काठमाण्डौ छोटो दूरीको बाटो पनि बन्द छ ।
यस्तै गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि बन्द छ । सत्यवती गाउँपालिका अन्तर्गत बाँदरे पैह्रो, लुम्दिखोला र डहरे खोलामा पहिरो खसेपछि बिहीबार रातिदेखि सडक खुलेको छैन । रौतहटको चाँदी खोलामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहट खण्ड अवरुद्ध छ ।
पाँचथरको फाल्गुनन्द–३, पाङग्रेभिरमा पहिरो जाँदा त्यहाँ पनि गाडी चलेका छैनन । चितवनको नारायणगढ माडी सडकखण्डमा पनि बाढीका कारण गाडी चल्न सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।