पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसूति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गर्नुभयो ।
भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।
पुनर्निर्माण गरिएको प्रसूति गृहमा १८२ शैया रहेका छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसूति गृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणा अनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुशी व्यक्त गर्नुभयो । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसूति गृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसूति गृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि आज उद्घाटन गरिएका जस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसूति गृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तर्राष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदा लगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालहरुबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रसूति गृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनस्विस्तार भएको बताउनुभयो। उहाँले अस्पताल पुनर्निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
२०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।