नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

 असार २७, २०७६ शुक्रबार १७:३७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ । 

नेपाली कांग्रेसका सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भैरहेको हो । नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भैरहेको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो । बैठकमा विविधसहित १४ वटा एजेन्डा तय गरिएको छ । बैठकको सुरुमा भने नियमावलीमाथि छलफल केन्द्रित भएको छ ।

बैठकमा नेताहरुले भातृ संगठनहरुलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन । बैठकमा भातृ संस्थाहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पनि केन्द्रीय सदस्य पौडेलले बताउनुभयो । त्यसैगरी पार्टी अनुशासनको कुरा गर्दा आलोचना गर्न पाउने व्यवस्था राख्नपर्नेमा पनि नेताहरुको जोड छ ।

बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण,  पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली का‌ंग्रेसले जनाएको छ ।

यसअघि बोलाइएको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच एजेण्डा सहमति नभएका कारण स्थगित गरिएको थियो ।

अन्तिम अपडेट: असार २९, २०७६

तपाईको प्रतिक्रिया