विपदबाट हुने क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’ मा

 असार २७, २०७६ शुक्रबार १९:२५:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।

विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि देशभरका बाढीबाट प्रभावित २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मकाे तयारी गरिएको छ । मुलुकको पहाडी र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा छन् भने तराइ क्षेत्र डुबान, कटान र बाढीको जोखिममा छ ।

भैपरी आउने घटनाको क्षति न्यूनीकरण, राहत र उद्धारका लागि सबै निकायको ध्यान केन्द्रित भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरी विपद्को प्रतिकार्य योजना बनाएर लागू गरिएको गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै जाँदा सम्भावित घटनाबाट क्षति कम गर्न मातहतका निकाय, तीनै तहका सरकार तथा सम्बद्ध अन्य संघसंस्था उच्च तयारीमा जुटेका छन् ।

सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७६ लागू गरी पूर्ण तयारी गरिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । योजनाभित्र पूर्व सूचनादेखि आपत्कालीन आश्रयस्थल व्यवस्थापनसम्मका कार्ययोजना समावेश छ । हरेक क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आआफ्नो उद्धार टोली तयारी अवस्थामा राखेका छन् ।

नेपाली सेनाले काठमाण्डौ, सुर्खेत र इटहरीमा हेलिकप्टरसहित उद्धार टोली राखेको खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विपदमा हुने सम्भावित घटनाको उद्धार र राहतका लागि सबै तयारी भएको छ, प्रदेश, जिल्ला र स्थानीय तह पनि तयारी अवस्थामा छन्, समग्रमा भन्दा सरकार ‘हाइ अलर्टमा छ’ ।

हालै लागू भएको प्रतिकार्य योजना २०७६ अनुसार खोज, उद्धार र तत्काल राहतका कामहरु गृहमन्त्रालयबाट हुन्छ । अन्य काममा गृहमन्त्रालय स्थानीय तहको सहयोगीको भूमिकामा रहन्छ । जोखिम न्यूनीकरणमा समन्वय, पुनःलाभमा नेतृत्व र राहत निर्माणमा सहयोगी भूमिका गृहमन्त्रालयको रहेको छ । नेपालको संविधान २०७२ ले विपदमा स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाएको छ ।

संविधानको अनुसूची ८ मा विपद् व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । मौसम सूचना प्रणाली प्रभावकारी मौसम तथा नदीमा बाढी सतहको पूर्व जानकारी दिन जल तथा मौसम विज्ञान विभाग र बाढी महाशाखाले सूचना र प्रविधिको प्रयोग गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाएको छ ।

मौसमविद् समिर श्रेष्ठका अनुसार हाल नेपालमा तीन दिनसम्मको मौसमको जानकारी दिन सकिने अवस्था रहेको केही महिनाभित्रमै मौसमको कुनै खतरा हुने बित्तिकै मोबाइलमा सन्देश पठाउन सक्नेगरी प्रविधिको विकास गर्न लागिएको छ । यसले अझै मौसमको जानकारी थप प्रभावकारी हुने श्रेष्ठले बताउनुभयो ।

गृहमन्त्रालयका अनुसार विभागले नदीको जलाधारक्षेत्रमध्ये २४४ जोखिम क्षेत्र पहिचान गरेको छ । त्यसमध्ये मुख्य नदीमा हुने बाढीको पूर्वसूचना दिने गरिएको छ । पूर्वसूचनाका लागि एसएमएस प्रणालीदेखि वेबसाइटबाट जानकारी दिने तथा खतरा र चेतावनीको सूचनाका लागि साइरन बजाउनेसम्मका काम भैरहेको छ। आज देशका अधिकांश क्षेत्रमा बदली हुने र धेरै स्थानमा वर्षा हुने विभागको सूचना प्रणालीमा उल्लेख छ । खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानमा भारी र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँमा अति भारी वर्षा हुने र केही स्थानमा हावाहुरीको सम्भावना छ ।

राति पनि मौसम बदली भएर धेरै स्थानमा वर्षा हुनेछ । तीन दिनसम्मै यो क्रम जारी रहने विभागले जनाएको छ । यस्तो छ मन्त्रालयका तयारी विभिन मन्त्रालयले समेत विपद् जोखिम कम गर्न आवश्यक तयारी गरेको छ । आफ्नो मातहतका निकायलाई उच्च सतर्कता अपनाउन लगाउनेदेखि उचित समन्वयका लागि तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको मनसुन आपतकालीन कार्ययोजना २०७६ मा मन्त्रालयले उल्लेख गरेको छ ।

जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुनमा हुनसक्ने जोखिम कम गर्न स्थानीय तहलाईसमेत उच्च सतर्कताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । पूर्वसूचना प्रणालीलाई चुस्त राख्ने, स्थानीय क्षेत्रमा क्रियाशील विकास साझेदार संस्थासँग समन्वय गरी खाद्यान्न, राहत सामग्री औषधोपचारका लागि तयारी गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालय नदी खोला पन्छाउने तथा आपतकालीन अवस्थामा मित्रराष्ट्रको सहयोग लिनेगरी समन्वयको तयारी अवस्थामा रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालयबाट प्राप्त सूचनाको आधारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन कार्यलाई प्रभावकारी बनाइ सार्वजनिक संस्थानलाई थप सक्रिय बनाउने, अत्यावश्यक वस्तुको मौज्दात र आपूर्ति व्यवस्थापनमा सहज पार्ने काममा सक्रिय रहेको कार्ययोजनामा जनाइएको छ ।

शहरी विकास मन्त्रालय तथा शहरी विकास तथा भवन निर्माण विभागले सुरक्षित ठाउँको व्यवस्थापन गरी आवश्यक समन्वयको काम गर्ने कार्ययोजनामा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रोग फैलन नदिन प्रकोप नियन्त्रण, चिकित्सक परिचालन गर्नेदेखि औषधोपचारमा क्रियाशील हुने छ । कृषि तथा पशुपक्षी विकास मन्त्रायलले कृषि तथा पशुपक्षी क्षेत्रको जोखिम कम गर्ने एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला बालबालिका र जेष्ठ नागरिकको उचित व्यवस्थापनमा सक्रिय हुनेगरी कार्ययोजना पेश गरेको छ ।

सुरक्षाकर्मी पूर्ण तयारीमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विपद् जोखिम न्यूनीकरण, राहत तथा उद्धारका लागि आवश्यक तयारीमा बसेको छ । विपद्को छोटो समयमा प्रभावकारी रुपमा परिचालन हुनेगरी विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत नेपाली सेनाले १ नं विपद् व्यवस्थापन गणलाई काठमाण्डौ र पूर्वतर्फको प्रदेश हेर्ने तथा २ नम्बर गणलाई चितवन तथा पश्चिमतर्फको प्रदेश हेर्ने गरी तालिमप्राप्त उद्धारकर्ता तयारी अवस्थामा राखिएको छ ।

यसका लागि सेनाले ५६१ जनाकाे आकस्मिक उद्धार टोली तयार गरेको छ । अन्य एक हजार ७८२ जनशक्ति तयारी अवस्थामा छन् भने हरेक क्षेत्रबाट आवश्यकताअनुसार टोली खटिन सक्ने नेपाली सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

गण भएको जिल्लामा १०४ र गुल्ममा ३० जना तैनाथ हुन्छन् । नपुग भए माथिल्लो तहबाट थप हुन्छ । मनसुनको समयमा बाढी पहिरोबाट हुने राजमार्गको क्षति उद्धार, राहत तथा सडक सञ्चालनका लागि एक्रोज ब्रिज र डुङ्गासहित आवश्यक जनशक्ति तयार पारेको छ । काठमाण्डाै सुर्खेत र इटहरीमा हेलिकप्टरसमेत तयारीमा राखेको उहाँले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धारका लागि दुई हजारभन्दा बढी दक्ष जनशक्ति तयार पारेको प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका आठ बाहिनीमा ५० जनाको दरले विपद् उद्धार समूह तयारी अवस्थामा छ । हरेक गणमा ३५ र गुल्म १० जना छन् भने आवश्यक जनशक्तिसहित १९ जना गोताखोरलाई कुरिनटार, काठमाण्डाै, पोखरा र सुनसरीमा खटाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

आवश्यक उद्धार उपकरणको समेत व्यवस्था गरिएको छ । नेपाल प्रहरीले सातै प्रदेशसम्बन्धी प्रहरी युनिटबाट आवश्यक तयारी गरेको छ । आवश्यकतानुसार विपद् व्यवस्थापन महाशाखा तथा प्रदेशअन्तर्गतको व्यवस्थापन गुल्मबाट दक्ष जनशक्ति खटिने जनाइएको छ । प्रहरीले केन्द्रमा खोज उद्धारका लागि ३० ‘क्विक रेस्पोन्स टिम’ तयार गरेएको छ ।

डुङ्गा चलाउन सक्ने १६, पौडिन सक्ने २८ तथा आवश्यक मात्रामा जनशक्ति थप्नसक्ने गरी तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय र सातै प्रदेशमा गरी कूल ५०० दक्ष प्रहरी जनशक्ति तयार गरिएको छ । आवश्यकता अनुसार प्रहरी अरु थप परिचालन हुनेछ ।­­­

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया