विपद् व्यवस्थापन समितिको बैठक: अन्तर्राष्ट्रिय सहयोग माग गर्ने परराष्ट्रको प्रस्ताव अस्वीकृत

‘राहत र उद्धार गर्न सरकार आफैँ सक्षम छ’

 असार २८, २०७६ शनिबार १५:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकार मार्फत नै राहत वितरण गर्ने निर्णय गरेको छ ।

शनिबार सिंंहदरबारमा बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरी प्रदेश सरकारसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति मार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको हो । 

यस्तै संघ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारकै सक्रियतामा राहत वितरण गरिने निर्णय भएको गृहसचिव प्रेम कुमार राईले जानकारी दिनुभयो । बैठकले अहिले तत्काल उपलब्ध ड्राइफुडहरु वितरण गर्न निर्देशन जारी गरेको उहाँले बताउनुभयो । 

बैठकमा परराष्ट्र मन्त्रालयका सचिवले विपतमा परेकाहरुको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय सहयोग माग गर्ने भन्ने प्रस्ताव राखेको भए पनि बैठकले त्यसलाई स्वीकृत दिएन । बैठकले आन्तरिक व्यवस्थापनबाटै राहत र उद्धार गर्न सकिने निष्कर्ष निकाल्दै अहिले नै अन्तर्राष्ट्रिय सहयोगको खाँचो नपरेको निष्कर्ष निकालेको हो ।

पानी पर्ने क्रम अझै नरोकिए र बाढी पहिरो तथा डुबान हुने क्रम अझै बढेमात्रै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्न सकिने तर अहिले नै त्यो अवस्था नरहेको भन्दै बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्ताव अस्वीकृत गरेको बैठकमा एक सहभागीले जानकारी दिनुभयाे । 

यस्तै सरकारले वर्षा नरोकिए अझै ठूलो क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । बाढी र पहिरोका कारण सबै भन्दाबढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको गृहसचिव राईले जानकारी दिनुभयो । जनकपुरमा डुबानमा परेकालाई उद्धार गर्न गएको हेलिकप्टर भने मौसम प्रतिकुल भएका कारण इटहरीतर्फ नै फर्किएको पनि उहाँले जानकारी दिनुभयो ।

वर्षासँगै कमला नदीको तटबन्धमा ढोका नलगाएका कारण नदीको पानी बस्तीमा छिर्दा सिरहामा डुबान भएको, रौतहटको गौरमा भने भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले डुबान भएको र वनगमतीको बाँधलाई नाघेर पानीको सतह माथि आएकाले सर्लाहीमा डुबान भएको निष्कर्ष मन्त्रालयले निकालेको छ ।

वर्षासँगै आएको बाढी पहिरोका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको पनि गृहमन्त्रालयले जनाएको छ । बाढीको चपेटामा परेर ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएका छन् । बाढीले पूर्वपश्चिम राजमार्गको महोत्तरीको पुल बगाउँदा त्यस क्षेत्रको यातायात पूर्ण रुपमा प्रभावित भएको छ ।

त्यसैगरी ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्रथुम, म्याग्दी, बेनी, जोमसोम, मनाङलगायतका ठाउँमा बाटो अवरुद्ध भएको छ । रौतहटका कतिपय स्थानमा एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क विच्छेद भएको छ ।

गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विपद् व्यवस्थापनमा काम गर्दे आएका सामाजिक संघ संस्था र रेडक्रसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Bhim Gurung

    July 14, 2019, 1:04 a.m.

    सानो समस्या परे पनि निहुँ पारी भीख माँगी हाल्नु परने ? भकारीको पैसा जति अनेक जूकती लगाएर खान सकने तर, आफनै भतकेको आगंन बनाऊँनका लागी गुहार मागने । दुई खुटटे जनवार तर चार खुटटेको ब्यावहार गरने जन्तुहरू देखेर डिक्क लागछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया