शिक्षा मन्त्री पोखरेल अमेरिकामा : विश्वकै उत्कृष्ट गन्तव्य भएकाले नेपाल घुम्न आग्रह

 असार ३१, २०७६ मंगलबार १९:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ ।

नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउन लागिरहेको पूर्व सन्ध्यामा मन्त्री पोखरेलले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक भएको बताउनु हुँदै विश्व समुदायलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ ।

युनेस्कोको आयोजनामा अमेरिकाको न्यूयोर्कमा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोलिटिकल फोरममा भाग लिन मन्त्री पोखरेल न्यूयोर्क  जानुभएको हो । मन्त्री पोखरेलले कन्सुलेट जनरल अफ् नेपाल र नेपाल अमेरिका फाउण्डेसनको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजनामा भिजिट नेपाल २०२० लाई सफल बनाउन आयोजित ‘नेपालको पर्यटन, कला र संस्कृति’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुभएको छ ।

मन्त्री पोखरेलले बुद्ध जन्मभूमि, विश्वको अग्लो समगरमाथा भएको देश नेपालको विश्वमा छुट्टै पहिचान भएको बताउनुभयो ।उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएको बताउँदै नेपाल सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनुभयो ।

नेपालको विद्यालयका पाठ्यक्रममा असल मानवीय मूल्यहरु समेटिएको प्रष्ट पार्नु हुँदै मन्त्री पोखरेलले नेपालीहरु अतिथि सत्कारका लागि राम्रो सेवा दिन सक्षम रहेको पनि बताउनुभयो ।

विश्व समुदायको ध्यान नेपालतिर आकर्षित गर्न आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेलले नेपाल सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ अघि बढिरहेको बताउनुहुँदै नेपाल सुन्दर, सुरक्षित र महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो ।पर्यटन प्रवर्द्धन र विकासका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नेपाल आउने पर्यटकलाई आवश्यक सम्पूर्ण सेवा र सुरक्षा दिन नेपाल सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री पोखरेलले विविधताले भरिपूर्ण सुन्दर देश भ्रमण गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया