कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले काम नलाग्ने बनाए: सांसद चौधरी

 साउन २, २०७६ बिहिबार १५:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाउनु भएको छ । 

चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गर्नुभयो । सांसद चाैधरीले उहाँले नेतृत्वसँगको सम्बन्धको आधारमा माथिल्लो ओहदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराउनु भयो ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उद्योगपति चौधरीले २०४६ सालयताका दिनहरुलाई हेर्ने हो भने माथिल्लो ओहदामा पुग्ने कर्मचारीसँग योग्यता र कार्यक्षमताभन्दा पनि नेतृत्वसँगको सम्बन्धले काम गर्ने गरेको पनि उल्लेख गर्नुभयो ।

सबैभन्दा कम क्षमता भएकाहरुलाई माथिल्लो ओहदाको जिम्मेवारीमा पुर्‍याउने राजनीतिक नेतृत्वको कारण मुलुकको कर्मचारी संयन्त्र कामै गर्न नसक्ने अवस्था पुगेको उद्योगपति चौधरीको दावी छ ।

उद्योगपति चौधरीले कर्मचारी संयन्त्रलाई गतिशील बनाउन उनीहरुको मानसिकतामा परिवर्तन हुनेगरी तालिमको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । योग्यता, क्षमता र कार्यकुशलताको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था भएमात्रै मुलुकमा कर्मचारीले उचित ढंगले कार्य सम्पादन गर्न सक्ने उहाँको बुझाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया