छक्का पन्जाकाे हिसाबले विप्लव समूहसँग वार्ता हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

 साउन २, २०७६ बिहिबार १६:४८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता सम्भव नरहेको बताउनुभएको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले दाउपेच र शक्ति संचयका लागि वार्तालाई प्रयोग गर्न नदिने बताउनुभएको हो ।

सरकार जहिल्यै पनि वार्ताका लागि तयार रहेको भन्दै उहाँले त्यसका लागि पहिला पक्राउ परेका मान्छे छाड्नु पर्ने, मुद्धा फिर्ता लिनुपर्ने लगायतका माग राख्नु जायज नभएको बताउनुभयो ।

पक्राउ परेकालाई छाड्ने र उनीहरुलाई लागेका मुद्धा फिर्ता लिए पनि वार्तामा नआउने गरेको विगतमा आफूहरुले देखेको भन्दै उहाँले अब छक्का पन्जा गरेर बस्नुको अर्थ नरहेको बताउनुभयो ।

‘यो छक्का पन्जा गर्ने हिसाबले हुँदैन । हामी छलफल गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, एउटा प्रक्रियामा अवतरण हुने प्रतिबद्धता सुनिश्चितता भए जतिसुकै बेला पनि वार्ता गर्न सरकार तयार छ ।’

अनुचित, गैरजिम्मेवार, असम्भव कुराहरु गरेर नहुने भन्दै उहाँले विप्लव समूहले दुनियालाई भुलभुलैयामा राखेर वार्ताको बहानामा हिंसालाई वैधानिकता प्रदान गर्ने काम सरकारबाट नहुने प्रष्ट पानुर्भयो ।

सिके राउतको झैँ 'हामी शान्तिपूर्ण राजनीतिमा प्रतिस्पर्धामा आउँछौँ' भन्ने प्रतिबद्धता जनाए सरकार स्वागत गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।  ‘होहल्ला मच्चाएर प्रचारको लाभ लिने काम हुँदैन,’ उहाँले भन्नुभयो, ‘संविधान मान्छौँ, युद्ध छाड्यौँ भनेर आए एकै मिनेटमा समस्या सकिन्छ ।’  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया