सेवाग्राहीकाे काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्न सांसदहरुकाे माग

 साउन ३, २०७६ शुक्रबार १४:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाका सांसदद्वय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद समेत रहनु भएका रावलले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेवाग्राहीको काममा ढिलाइ गर्ने कार्मचारीलाई दण्ड सजायको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढी सास्ती व्योहोर्नेतर्फ सरकारलाई सजग गराउनुभयो । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गरिनुपर्ने बताउनुभयाे ।

सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण देश भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Bidhya Prasad Upadhyaya

    July 19, 2019, 4:21 p.m.

    बजेट लिएर कार्यान्वयन नगर्ने सांसदहरूलाई चाहिँ के गर्ने नि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया