महाबाैद्धकाे सहकारीमा ६१ कराेड रुपैयाँ रहेकाे कुरा झुटाे हाे : पूर्व मन्त्री बस्नेत

 साउन ३, २०७६ शुक्रबार १८:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफूलाई बदनाम गराउन सक्रिय रहेको आरोप लगाउनु भएको छ । 

पूर्व सञ्चारमन्त्री समेत रहनु भएका बस्नेतले एक सहकारी बचत संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटा समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरुको संलग्नता रहेको दाबी गर्नु भएको हो ।

उहाँले मिडिया काउन्सिल विद्येयकको विरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथि नै आँच आउने गरी त्यस्तो कपोलकल्पित समाचार सम्प्रेषण गराइएको दाबी पनि गर्नुभयो ।

काठमाण्डौको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र त्यससम्बन्धमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको समाचार केही समाचार माध्यममा आएको थियो । त्यही समाचारको खण्डन गर्न शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्नु भएका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले त्याे सहकारीमा आफू र आफ्नो परिवारको सदस्यको कुनै पनि खाता नरहेको पनि बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले त्याे सहकारी संस्थाको नाम आफूविरुद्धको त्याे समाचार आएपछि मात्रै थाहा पाएको उल्लेख गर्दै सहकारी संस्थाले पनि शुक्रबार विज्ञप्ति जारी गरेर मेरो नाममा कुनै पनि खाता नरहेको स्पष्ट पारेको पनि बताउनुभयो ।

उहाँले आफूमाथि झुटा आरोप लगाइएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया