च्याउ टिप्न जंगल गएका १० जना किशाेर शुक्रबारदेखि सम्पर्कविहीन

 साउन ४, २०७६ शनिबार ११:५१:५० | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – जंगली च्याउ टिप्न मदरबाबा जंगल गएका बर्दघाट नगरपालिका-१५ तेलहा गाउँका १० जना किशोरहरू शुक्रबारदेखि सम्पर्कविहीन बनेका छन् ।

च्याउ टिप्न जाने भन्दै शुक्रबार दिउँसो १ बजे गाउँका १६/१७ वर्षे उमेर समूहका १० जना किशोरहरू एकसाथ जंगल पसेका थिए । राति अबेरसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेको स्थानीय टेक बहादुर थारूले बताउनुभयो । टेक बहादुरका छोरा सुरज चौधरी पनि हराइरहनु भएको छ । 

उहाँले भन्नुभयो, 'मेरो छोरा सुरजसँगै नवीन चौधरी, मान बहादुर चौधरी, सागर र सन्दीपलगायत १० जना दौतरीहरू सँगै गएका हुन् । उनीहरूसँग भएको मोबाइलमा सम्पर्क हुन सकिरहेको छैन ।'

स्थानीयवासी, प्रहरी तथा वनका कर्मचारीहरु परिचालन गरिएको भए पनि अहिलेसम्म उनीहरुको खबर पाउन सकिएको छैन । शनिबार बिहान फेरि गाउँका थप व्यक्तिका साथ खोजी थालिएको छ ।

शनिबार बिहान १० बजे हराएका मध्ये एक जनाको फोन आएको र 'हामी पहाड पारि हराएका छौं' भन्ने बताएपछि खोजीका लागि गाउँलेहरु घना पहाडतर्फ उक्लिएका छन् । मोबाइल नेटवर्क नभएका कारण सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया