अमेरिका न मेराे हाे, न ट्रम्पकाे हाे, हामी सबैकाे हाे : मिशेल ओबामा

 साउन ४, २०७६ शनिबार २०:३९:५२ | एजेन्सी
unn.prixa.net

चार जना अमेरिकी कांग्रेस महिलामाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद टिप्पणीपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले पनि टिप्पणी गरेकी छिन् । 

मिशेल ओबामाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिका सबैको भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘विविधताले नै हाम्रो देशलाई महान बनाएको छ । चाहे हामी अमेरिकामै जन्मिएका हौँ अथवा प्रवासी हौँ, अमेरिका हामी सबैको लागि हो । हामीले यति याद राख्नुपर्छ कि अमेरिका न मेरो हो, न तिम्रो हो । यो हामी सबैको अमेरिका हो ।' 

डेमोक्रेटिक पार्टीकी चार जना कांग्रेस महिलामाथि टिप्पणी गरेपछि ट्रम्पको आलोचना जारी छ । ट्रम्पले यदि चार जना महिलाहरु अमेरिकामा खुशी छैनन् भने उनीहरु जहाँबाट आएका हुन् त्यतै जान सक्ने बताएका थिए ।  डेमोक्रेटिक पार्टीको बहुमत भएको हाउस अफ् रेप्रिजेन्टेटिभले ट्रम्पको टिप्पणीलाई लिएर जातिवाद भएको भन्दै उनको निन्दा गरिएको थियो । 

के थियाे विवाद ?

ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘डेमोक्रेटिक्स आफैँ चार जना प्रगतिवादीलाई दूर गर्न चाहन्थ्यो तर अब अंकमाल गर्न बाध्य छ । यसको मतलब उनीहरु समाजवादको समर्थन गरिरहेका छन् । इजरायल र अमेरिकाबाट तिरस्कार डेमोक्रेटिकको लागि ठिक होइन ।' 

ट्रम्पले कांग्रेस महिला तथा डेमोक्रेटिक पार्टीकी नेतृ अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इलहाम ओमार राशिदा तलेब र अयन्ना प्रेसलाई इंगित गर्दै जातिवादी टिप्पणी गरेका थिए । त्यसपछि उनीहरुको पत्रकार सम्मेलन गर्दै ट्रम्पको ट्वीटको निन्दा गर्दै उनलाई स्पष्टरुपमा पद छोड्न भनेका थिए । 

ओमारले भनेकी थिइन्, ‘ट्रम्प यस्ता राष्ट्रपति हुन्, जसले इतिहासकै भ्रष्ट प्रशासनको रेखदेख गरिरहेका छन् । ट्रम्प हाउस अफ रेप्रिजेन्टेटिभमा चुनिएका सबै रंगका महिलामाथि जातिवानी आक्रमण गरिरहेका छन् । यो श्वेत राष्ट्रपतिको एजेण्डा हो । चाहे यो च्याट रुममा भैरहेको छ या राष्ट्रिय टिभीमा भैरहेको छ । र यो अब व्हाइट हाउसको बगैँचामा पुगेको छ ।' 

ट्रम्पले यी चार जना महिलालाई निशाना बनाउँदै अमेरिकालाई कसरी चलाउनुपर्छ यसबारेमा बोल्नुअघि उनीहरु जहाँबाट आएका हुन्, त्यहाँको सरकार पूर्णरुपमा सकिएको बताएका थिए । ट्रम्पको यही टिप्पणीलाई डेमोक्रेटिक पार्टीले जातिवादी मानेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया