बालुवाटार जग्गा प्रकरणमा मेराे संलग्नता छैन : कांग्रेस उपसभापति गच्छदार

 साउन ६, २०७६ सोमबार ६:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गर्नु भएको छ । 

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा जग्गा प्रकरणमा मुछिएको समाचार आईरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिनु भएको हो । आइतबार साँझ भारतबाट स्वदेश फर्कनु भएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमि सम्बन्धि कुनै प्रस्ताव नलगेको  बताउनुभयाे ।   

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिँधै भारत जाँदा जग्गा प्रकरणको अभियोग छल्न गएकाे भन्ने गरी विभिन्न समाचार माध्याममा समाचार आएकाे प्रति आपत्ति पनि जनाउनु भयो । उहाँले जग्गा प्रकरणबारे सोधपुछ गर्न चाहे आफूले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने स्पष्ट पार्नु भयो । अख्तियार संवैधानिक निकाय भएकाले त्यसले सोधपुछ गरे आफूले सहयोग गर्ने गच्छदारको भनाई छ ।

माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो । मन्त्रीको हैसियतमा त्यस जग्गा प्रकरणमा मुछिएको र त्यसबारे सोधपुछ गर्न अख्तियारले तयारी गरेपछि गच्छदार त्यसलाई छल्न अमेरिका र भारत भ्रमणमा गएको समाचार आएको थियो । त्यसमा सत्यता नरहेको गच्छदारको दावी छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया