प्रदेश १ का सचिव घिमिरेको तीन महिनामै सरुवा

 साउन ६, २०७६ सोमबार ६:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको तीन महिनामै सरुवा भएको छ ।  

सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कारबाही स्वरुप सरुवा गरेको स्रोतले जनाएको  छ ।

स्रोतका अनुसार उनलाई खानेपानी  मन्त्रालयमा सरुवा गरिएको छ । यसअघिका सचिव सागर राईको सरुवा भएपछि आएका घिमिरे कर्मचारीहरुलाई समेत दुख दिने तथा आर्थिक चलखेलमा फसेको गुनासो बढेपछि संघीय सरकारले कारबाही स्वरुप संघीय मन्त्रालय तानेको स्रोतको दावी छ ।  

सचिवमाथि लागेका आरोप

सचिव घिमिरे सरुवा भएर आएदेखि नै उनीमाथि विभिन्न आरोपहरु लाग्दै आएको थियो । योजना/कार्यक्रम हाल्ने बेलैमा रकम माग्ने तथा काम सकेर भुक्तानी लिन आएका बेला पनि रकमको चलखेल गर्ने गरेको आरोप लाग्दै घिमिरेलाई लाग्दै आएको थियो ।

त्यस्तै कर्मचारीहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको तथा कार्य सम्पादन मुल्याङ्कन बिगार्ने गरेको आरोप कर्मचारीले लगाएका छन् । समायोजन भएर आएका कर्मचारीलाई राम्रो ठाउँमा पार्दिने भन्दै रकम माग्ने गरेको कर्मचारीहरु नै बताउँछन् ।  

घिमिरे चैत १८ गते प्रदेश १ मा सरुवा भएर आउनुभएको थियो । उहाँको अवकाश हुन पनि अब तीन महिना मात्रै बाँकी छ ।  

‘भ्रष्टाचार गर्न नपाएको समुहले बिष बमन गर्यो’

सचिव घिमिरेले भने आफूमाथि  अनर्गल आरोप लगाइएको बताउनुभएको छ । सरुवा सामान्य भएको भन्दै उहाँले भ्रष्टाचार गर्न नपाएको एउटा समुहले आफुमाथि अनर्गल आरोप लगाएको बताउनुभयो । 

‘जुन समूहले भ्रष्टाचार गर्न पाएनन् त्यो समूहले बिष बमन गरेको हो,’ उहाँले भन्नुभयो, ‘सरुवा भएर आएका कर्मचारीको काम गर्ने क्षमता छैन र विज्ञता छैन भने हटाउनु पर्छ ।’

कर्मचारीबाट धेरै अनियमिता तथा आर्थिक ऐन विपरितका कार्यहरु हुन खोजेको भने उहाँले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश १ मा यस्ता खालका कर्मचारी धेरै छन्  ।’

योजनामा निर्माण र भुक्तानीको बिषयमा लागेको आरोपमा भने उहाँले कुनै जवाफ दिनुभएन । आफूले आफ्नो पदीय दायित्व निर्वाह गरेकोले सरुवाको बारेमा बोलिरहनु आवश्यक नरहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया