हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–ढाका उडान गर्ने

 साउन ६, २०७६ सोमबार ७:५८:५३ | रासस
unn.prixa.net

काठमाडौँ - निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थालेकाे हो ।

काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बङ्गलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गर्नुभयो ।

हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २ः१० मा उडान गरी काठमाडौँमा दिउँसो ३ः२० मा अवतरण हुनेछ ।

एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीन वटा जहाज छन् । व्यावसायिक, अध्ययन तथा घुमघाम प्रयोजनका लागि बङ्गालादेश जाने दुवै प्रकृतिका यात्रुलाई लक्षित गरेर उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ । हिमालयले हाल कतारको दोहा, दुबई/आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना छ ।

नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो स्रोत बजार हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार बङ्गलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया