पुष्पलाल : मार्क्सवादका नेपाली सूत्रधार

 साउन ७, २०७६ मंगलबार ६:३४:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लाग्नुभयो । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहनेछ ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेख्नुभएको थियो । घोषणापत्रमा उहाँले भन्नुभएको छ, ‘विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’

यसलाई नेपाली मार्क्सवादीले  मार्क्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएका छन् । दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गर्नुभएको थियो । त्यतिखेर उहाँ १५ वर्षका किशोर हुनुहुन्थ्यो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा हुनुहुन्थ्यो, पछि छोराका कारणले जागिर खोसिएको थियो ।

निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै हुनुहुन्थेन इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान राख्नुहुन्थ्यो । बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको बताइन्छ । उहाँ २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औँचित्य पुष्टि गर्न अहोरात्र लाग्नुभएको थियो ।

उहाँको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।  देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया