नारायणी नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

 साउन ७, २०७६ मंगलबार १२:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणी नदीमा बाढी आएकाले पर्सासहित बारा, सुनसरी, मोरङ र चितवनका नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यहाँ २४ घण्टामा १ सय ४९ दशमलव ६ मिलिमिटर पानी परिसकेकाले चितवनमा माडी र पूर्वी राप्ती, पर्सामा साना नदीतटीय क्षेत्र, बारामा लालबकैया र केही स्थानीय खोला तथा मोरङ र सुनसरीका नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सामान्यता २४ घण्टामा १ सय ४० मिलिमिटरभन्दा धेरै पानी परेपछि खतरा रहेको भन्दै महाशाखाले सावधानी अपनाउन अपील गर्दै स्थानीयको मोबाइलमा सन्देश पठाउने गर्छ । अहिलेसम्म ८५ हजार व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गर्दै सन्देश पठाइसकिएको महाशाखाका बाढीविज्ञ सुनिल पोख्रेलले जानकारी दिनुभयो ।

पानी परिरहेकाले विभिन्न खोलामा बाढी आउने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन उहाँको सुझाव छ । बिहान ठूलो बाढी आएको बुटवलको तिनाउ नदीमा अहिले भने पानीको सतह घटेको पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मंगलबार र बुधबार कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायतमा बाढी आउने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन पनि महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया