लाङटाङ राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२ हजार पर्यटक भित्रिए

 साउन ८, २०७६ बुधबार १८:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – आर्थिक वर्ष २०७५/७६ मा झण्डै २२ हजार पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् । 

निकुञ्ज क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन, पदमार्गको सुधार तथा होटल र लजको व्यवस्थापन भएसँगै पर्यटकको संख्या बढेको हो । 

निकुञ्जका अनुसार एक वर्षमा २१ हजार ९ सय ४५ जना पर्यटक निकुञ्ज आएका छन् । तीमध्ये १७ हजार ६ सय ९१ जनाले निकुञ्ज कार्यालयबाट र ४ हजार २ सय ५४ जनाले विभागबाट प्रवेश अनुमति लिएका छन् । 

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएकामध्ये ५ हजार ५ सय ५९ जना नेपाली छन् । निकुञ्ज प्रवेश गर्दा नेपालीले पनि शुल्क तिर्नुपर्ने भएपछि नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । 

साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् । त्यस्तै असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । रसुवाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज आएका पर्यटकबाट ४ करोड ५४ लाख ४५ हजार ३ सय ३९ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया