पाकिस्तानले एकै वर्षमा लियाे १६ अर्ब डलर कर्जा

 साउन ८, २०७६ बुधबार १४:४२:३६ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले एक वर्षमै १६ अर्ब डलर बराबरको विदेशी ऋण लिएको छ । यो ऋण पाकिस्तानकै इतिहासमा सबैभन्दा धेरै हो । 

अन्तर्राष्ट्रिय कर्जा भुक्तानमा दोषी ठहरिनबाट बच्न र आयात बिलको भुक्तान गर्न पाकिस्तानले यस्तो गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

पाकिस्तानले आर्थिक वर्ष २०१८/२०१९ मा १६ अर्ब अमेरिकी डलर विदेशी कर्जा लिएको थियो । जसमा ११ महिनाको कार्यकाल वर्तमान प्रधानमन्त्री इमरान खानको सरकारको रहेको छ । 

१६ अर्ब डलर कर्जामध्ये इमरान खानको सरकारले आफ्नो कार्यकालमा १३ दशमलव ६ अर्ब डलर कर्जा लिएको हो । यो रकम कुनै पनि सरकारको एक वर्षभित्रमा सबैभन्दा ठूलो विदेशी कर्जा हो । बाँकी २ दशमलव १ अर्ब डलर सन् २०१८ जुलाई महिनामा पाकिस्तानको कामचलाउ सरकारले लिएको थियो । 

आर्थिक वर्ष २०१८/०१९ को अन्त्य पछिल्लो महिनाको जुलाईमा भएको थियो र एकै वर्षामा कर्जा १६ अर्ब डलरसम्म पुग्यो । यो कर्जामा साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारको ५ अर्ब डलर पनि छ । 

पाकिस्तानको प्रमुख अखबार एक्सप्रेस 'ट्रिब्यून' का अनुसार वित्त मन्त्रालयले जारी गरेको तथ्यांकमा साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारबाट लिइएको छ अर्ब डलर कर्जाको रुपमा लिइएको छैन । 

सुरुवातमा चीनको २ अर्ब डलर सहयोगलाई पनि विदेशी कर्जामा राखिएको थिएन तर अन्तर्राष्ट्रिय मुद्रा कोषको दबावमा पाकिस्तानले आफ्नो कदम सच्याएको थियो । आर्थिक वर्ष २०१७/०१८ मा पाकिस्तानले ११ दशमलव ४ अर्ब डलर विदेशी कर्जा लिएको थियो ।

१६ अर्ब डलरको ४२ प्रतिशत हिस्सा अर्थात् ६ दशमलव ७ अर्ब डलर कर्जा पाकिस्तानले चीनसँग लिएको हो । जसमध्ये २ दशमलव ५४ अर्ब डलर व्यवसायिक कर्जा, १ दशमलव ६ अर्ब डलर सीपीईसी चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी), २ अर्ब डलर एसएएफई डिपोजिट र ६२ दशमलव करोड डलर कराची न्यूक्लियर पावर प्लान्ट्सको लागि थियो । 

त्यस्तै आर्थिक वर्ष २०१७/०१८ मा चीनले पाकिस्तानलाई ४ दशमलव ५ अर्ब डलर कर्जा दिएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया