च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – एक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि पाँच हजार रुपैयाँ आउँछ भन्दै पैसा उठाइन्छ । स्थानीय समुदाय पैसा आउने लोभमा खुरुखुरु आफ्नो र परिवारको कागजपत्रसहित एक हजार रुपैयाँ बुझाउँछन् । एक–दुई जना होइन पैसा बुझाउन सयौँ व्यक्तिको लर्काे लाग्छ । यस्तो असुल कार्य जिल्ला वा विकट गाउँमा नभई देशको राजधानीमा नै हुन्छ । जब प्रहरीमा घटना पुग्छ, स्थानीय समुदाय छाँगाबाट खसेजस्तो गरी तर्सन्छन् । यस्तै घटनाले अहिले दुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् ।
घटना काठमाण्डौको कोटेश्वरको हो । सर्भाइबल फाउण्डेशन नामक संस्थाले बालबालिकालाई पठनपाठनका लागि विदेशबाट पैसा आउने लोभ देखाएर हरेक व्यक्तिसँग एक–एक हजार रुपैयाँका दरले रकम उठाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म उनीहरुबाट झण्डै २५ लाख रुपैयाँ उठाएको पाइएको छ । अन्य सयौँ व्यक्तिसँग पनि एक हजारका दरले लाखौँ पैसा उठाएको भन्ने जानकरी आएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ‘पैसा लिएको भनेर धेरैको निवेदन आएको छ, ठग्ने मनसायले नै गरीबसँग पैसा लिएको देखिन्छ, अनुसन्धान पछि धेरै कुरा बाहिर आउँला’, बोगटीले भन्नुभयो ।
नेटवर्किङ व्यवसायको नाममा करोडाँै रुपैयाँ ठगी गरेको घटना यसअघि पटकपटक भएको थियो । त्यस्ता घटना अहिले अलि सेलाएको छ । यसपटक अलि फरक किसिमबाट गरीब तथा विपन्न समुदायलाई प्रलोभनमा पारेर लाखौँ रुपैयाँ सङ्कलन गरेको घटना सार्वजनिक भएको छ ।
सर्भाइबल फाउण्डेशनले बालबालिकाको रजिष्ट्रेशनका लागि भन्दै व्यक्तिबाट एक हजार रुपैयाँका दरले पैसा असुलेको हो । विदेशबाट पैसा आएपछि पाँच हजार रुपैयाँका दरले दिने भनेकाले आफूहरुले कागजपत्रसहित एक हजार रुपैयाँ दिएको बानेश्वर प्रहरी वृत्तमा पैसा फिर्ता माग गर्दै आइपुग्नुभएकी एक महिलाले बताउनुभयो । सयौँ महिला पैसा र कागजात फिर्ताको माग गर्दै प्रहरीमा आइपुगेका छन् ।
कुनै पनि संस्थाले यसरी पैसा उठाउन पाउने कानूनी प्रावधान नभएको प्रहरीको दाबी छ । संस्थाविरुद्ध ठगी गरेको भन्दै केही व्यक्तिले उजुरी गरेपछि प्रहरीले संस्थाका चार जना पदाधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेका संस्थाका अध्यक्ष आइस्था परियार, प्रमुख कार्यकारी अधिकृत ईश्वरसिंह राउत, उपाध्यक्ष सोमरसिंह घलान र कोषाध्यक्ष विष्णुमायाँ दाहाल छन् ।
उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । संस्थाका महासचिव तेजबहादुर कार्की फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाले सबै काम कार्कीले गरेको भनेर बताइरहेको प्रहरीले बताएको छ ।
यो संस्थाले बढी पैसा आउने भन्दै रजिष्ट्रेशन शुल्कको नाममा पैसा असुलेको पाइयो, अहिलेसम्म झण्डै दुई हजार ५०० को नाम दर्ता भएको फाइल हामीले बरामद गरेका छौँ, ठगी मुद्दामा अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गर्दैछौँ”, वृत्तका प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो ।
स्थानीयका अनुसार झण्डै चार हजार व्यक्तिसँग पैसा असुल गरिएको छ । कतिलाई रसिद दिइएको छ भने कतिबाट त्यसै पैसा सङ्कलन गरिएको छ । प्रहरीको अनुसन्धानले २५ लाख रुपैयाँ रकम उठाएको अनुमान छ । उनीहरु पक्राउ परेपछि पैसा बुझाएका रकम र बुझाइएको व्यक्तिगत विवरण फिर्ताको माग गर्दै प्रहरीमा पुगेका छन् ।
संस्था भने समाज कल्याण परिषद्मा गैरनाफामुखी भनेर एक वर्षअघि दर्ता भएको पाइएको छ । बालबालिकाको विवरण पठाएपछि विदेशबाट पैसा आउने र त्यही पैसा वितरण गर्ने लोभमा गरीब परिवारले पैसा दिएको पाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।