अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयनमा आउँदै

 साउन १०, २०७६ शुक्रबार १४:५६:१२ | एजेन्सी
unn.prixa.net

अमेरिकाको न्याय मन्त्रालयले १६ वर्षपछि मृत्युदण्डको सजाय सुनाइएकाहरुको सजाय कार्यान्वयनमा ल्याउने भएको छ । 

संघीय सरकारको यो कदमपछि विभिन्न अधिकारकर्मी समूह र डेमोक्रेट प्रमुखहरुले तिखो आलोचना गरेका छन् । डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवारहरुले मृत्युदण्डको सजाय समाप्त गर्न आह्वान गरेका छन् । 

बिहीबार महान्यायाधिवक्ता विलियम बरले पाँज जना कैदीलाई मृत्युदण्डको सजाय दिने बताए । उनीहरुलाई आउँदो डिसेम्बर र सन् २०२० को जनवरीमा मृत्युदण्ड दिइने बताइएको छ । ‘बालबालिका र ज्येष्ठ नागरिकको हत्या र बलात्कारको मुद्दामा दोषी ठहरिएका पाँच जनालाई मृत्युदण्डको सजाय दिइनेछ’, महान्यायाधिवक्ता बरले भने । 

यसअघि सन् १९७२ मा सर्वोच्च अदालतले राज्य र संघ तहका सबै मृत्युदण्ड खारेज गर्न आदेश दिएको थियो । त्यसपछि सन् १९७६ मा सर्वोच्च अदालतले कतिपय राज्यमा मृत्युदण्डलाई खुला गर्‍यो ।  सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरेको थियो । 

सन् १९८८ देखि २०१८ सम्म ७८ जनालाई मृत्युदण्डको सजाय तोकिएको भए पनि जम्मा तीन जनालाई मात्र सजाय दिइएको छ । न्याय मन्त्रालयले दिएको जानकारी अनुसार मृत्युदण्डसम्बन्धी पाँच ओटा फैसला कार्यान्वयन हुने क्रममा छ । 

यो घोषणपछि सन् २००३ देखि मृत्युदण्डको सजाय कार्यान्वयन गर्न कायम रहेको अनौपचारिक निलम्बन हटेको छ । ट्रम्प प्रशासनको घोषणपछि अधिकारकर्मीहरुले कडा आलोचना गरे पनि यसले महत्वपूर्ण राजनीतिक तरंगको सम्भावना भने देखिएको छैन । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया