जनकपुर विमानस्थलमा हवाई इन्धन 'रिफ्यूलिङ स्टेशन'

 साउन १०, २०७६ शुक्रबार १६:१०:११ | रासस
unn.prixa.net

धनुषा - नेपाल आयल निगम लिमिटेडद्वारा शुक्रबारदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ ।

हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा रिफ्यूलिङ केन्द्रको स्थापना गरिएको हो । १६ हजार लिटर क्षमताकाे हवाई इन्धन रिफ्यूलर जनकपुरमा विमानस्थलमा राखिएकाे हाे । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक समारोहबीच हवाई इन्धन भर्ने सेवाको प्रारम्भ गर्दै प्रदेश नम्बर २ को हवाई यातायात क्षेत्रको विकासमा यसले टेवा पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन हवाई यातायात सेवा सुरु हुने सन्दर्भमा पनि इन्धन भर्ने सेवा महत्वपूर्ण हुने स्पष्ट पार्दै प्रदेश नम्बर २ को विकास अभियानमा एकताबद्ध हुनु जरुरी छ भन्नुभयो ।

प्रदेश नम्बर २ को मानव विकासको सूचकाङ्क चिन्तनीय रहेको चर्चा गर्दै उहाँले यस प्रदेशको विकास अभियानमा सबै राजनीतिक दलको अग्रसरता आवश्यक छ भन्नुभयो ।

मन्त्री यादवले प्रदेश सरकारले जनकपुर चुरोट कारखानालाई जेलमा बन्द गरे झैँ राखेको छ भन्दै आफूले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुरूप जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने कुरा गर्दा प्रदेशका एक मन्त्रीले आफूलाई लक्षित गरी दम्भ प्रदर्शन गर्नु दुःखद हो भन्नुभयो ।

उहाँले भन्नुभयाे, 'मधेशको दुर्दशा देख्दा पीडा हुन्छ । यहाँ द्वन्द्वको आवश्यकता छैन, कमजोरीलाई सच्याउँदै सकारात्मक सोचका साथ विकास कार्यमा अग्रसर हुनुपर्छ ।' 

प्रदेश नम्बर २ का उद्योग, वन, वातावरण एवं पर्यटनमन्त्री रामनरेश रायले विगतमा जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्न अन्यत्र जानुपर्ने समस्या अन्त्य भएको बताउनुभयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आगामी दिनमा जनकपुरधाम विमानस्थलमा अत्याधुनिक, स्थायी र आफै भण्डारण गर्ने केन्द्र स्थापनाका लागि बजेटको विनियोजन भइसकेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया