नेपाल-भारत डुबानकाे समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दैनाैँ : परराष्ट्रमन्त्री ज्ञवाली

 साउन १०, २०७६ शुक्रबार २०:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

भारतले निर्माण गरेका बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै सरकारको चर्को आलोचना भैरहेका बेला मन्त्री ज्ञवालीले समस्या समाधान गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । 

शुक्रबार काठमाण्डौमा आयोजित ‘बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै उहाँले नेपाल-भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि ३ वर्षअघि दुई देशबीचको प्राविधिक टोलीले तयार पारेको डुबान समस्या समाधनसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने पनि बताउनु भयो । प्रतिवेदनमा भारतले आफूले बनाएको बाँधका कारण नेपालको भूमि डुबान भएको स्वीकार गरेको पनि मन्त्री ज्ञवालीले दाबी गर्नुभयो । 

मन्त्री ज्ञवालीले समस्या समाधान गर्दा द्विपक्षीय हितलाई नै ध्यानमा राखेर अघि बढनुपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई मुलुकबीचको डुबान समस्या समाधानका लागि अब बस्ने मन्त्रीस्तरीय बैठकमा छलफल गर्ने समझदारी गरिएको बताउन भयो । अब छिटै बस्ने दुई देशबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकले समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ ।

मन्त्री ज्ञवालीले बाढी-पहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारले प्राधिकरण गठन गर्न लागेको पनि जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार भैरव रिसालले डुबानमा परेका गरिब नागरिकका पीडालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले डुबान समस्याको दीर्घकालीन समाधानका लागि नेपाल-भारत दुबै देशका प्रधानमन्त्रीले प्रभावित क्षेत्रको निरीक्षण गर्नुपर्ने पनि बताउनु भयो ।

पत्रकार रिसालले गरिब नागरिकका लागि एक धुर जमिन डुबानमा पर्दा उसको सर्वस्वहरण हुने भएकाले त्यसतर्फ सरकारले विशेष निगरानी राख्नुपर्ने पनि स्मरण गराउनुभयाे । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया