निद्रामा घुर्ने र सास रोकिने समस्या छ ?

 साउन १६, २०७६ बिहिबार ८:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तपाईँलाई निद्रामा घुर्ने, हात-खुट्टा धेरै चलाउने, छट्पटिने र सास रोकिने समस्या छ भने ‘स्लीप एप्निया’ भएको हुन सक्छ ।

‘स्लीप एप्निया’ के हो र कसरी हुन्छ त ? 

यो निद्रासम्बन्धी समस्या हो । साधारण घुराइ र यो समस्याका कारण हुने घुराइमा भिन्नता हुन्छ । 

साधारण घुराइ मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुनसक्छ । तर यसमा 'स्लीप एप्निया' मा जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । 

'स्लीप एप्निया' हुनेहरुलाई निदाएको बेला गर्दनभित्रको श्वासनली साँघुरो भइ केही बेरको लागि निद्रा बन्द हुन्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । 

यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रश्वास चालु हुन्छ । यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन्छ । ‘घुर्ने, सास रोकिने, ब्युँझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्न, जसका कारण बिरामीको निद्राको गुणस्तर कम हुन्छ । 

धेरैजसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहँदैन । पीडितलाई भन्दा सँगै सुत्ने व्यक्तिलाई यी कुराहरु बढी थाहा हुनसक्छ । यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हृदयघात) देखि लिएर दीर्घकालीन (शारीरिक तथा मानसिक) असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ । 

यो रोगका असरहरु के-के हुन सक्छन् ? 

यो रोग हुनेहरुलाई हृदयघात, मुटुको चालमा असन्तुलन, पक्षघात, मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ । अत्याधिक घुराइको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ । 

अत्याधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ । यसको समयमै उपचार तथा समाधान खोजेमा माथिका समस्याबाट बच्न सकिन्छ । 

'स्लीप एप्निया' भए–नभएको कसरी पत्ता लगाउन सकिन्छ ?  

यसका लागि तपाइँले निद्रासम्बन्धी जाँच गर्नुपर्ने हुन्छ । यसलाई पोलिसोम्नेग्राफी पनि भनिन्छ । यो जाँच गर्नका लागि अस्पतालको बेडमा भर्ना भइ सुत्नुपर्ने हुन्छ । यो जाँचले तपाईँ निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निद्रासम्बन्धी रोगहरु भए-नभएको थाहा पाउन सकिन्छ । 

तपाईँ निदाएको बेला तपाईँको शरीरमा टाँसिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा भिडियो माध्यमबाट निद्राका गतिविधि परीक्षण गरिन्छ । 

सेन्सरहरु टास्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्य बाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुँदैन । कहिलेकाहीँ आवश्यकता अनुसार तपाईँको घरमा नै गएर सीपीएपी (कन्टिन्युअस पोजेटिभ एयरवे प्रेसर) मेसिन जोडेर पनि जाँच गर्नुपर्ने हुन्छ । 

'स्लीप' एप्निया को उपचार विधि के हुन्छ ?

माथि बताइएका जस्तै तपाईँलाई 'स्लीप एप्निया' भएको रहेछ भने यसको उपचार गर्नुपर्ने हुन्छ । यो रोगको मुख्य उपचार भनेको सीपीएपी प्रविधिको प्रयोग गर्नु नै हो । सासको नली बन्द हुन नदिनका लागि तपाईँले राति नियमित रुपमा नाक वा मुख छोप्ने खालको विशेष मास्क प्रयोग गरेर सुत्नुपर्छ । 

यो मास्क सीपीएपी मेसिनसँग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट तपाइँको श्वासनलीमा चाप पैदा गरी त्यसलाई बन्द हुन दिँदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट पनि जोगाउँछ । यसले तपाईँलाई गहिरो निद्रा लाग्न सहयोग गर्छ र रोगका कारण हुने अन्य समस्याबाट पनि जोगाउँछ । 

माथि बताइएको सीपीएपी प्रविधिको साथसाथै तपाइँले अरु विधिहरु पनि अपनाउनु भयो भने उपचार सहज हुन्छ । जस्तैः तौल कम गर्ने, सुत्ने बेलामा कोल्टे फर्केर मात्र सुत्ने, गर्दनमा मांशपेशीहरुको कसरत गर्ने, नाक-कान-घाँटीको समस्याहरुको उपचार गर्ने, जाँडरक्सी र अन्य निद्राको औषधिको प्रयोग नगर्ने आदि ।

साधारण स्लीप एप्निया हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीँ घाँटीको शल्यक्रियाले पनि फाइदा पुग्न सक्छ । निद्राको जाँच गरिसकेपछि रोगको अवस्था हेरेर डाक्टरहरुले उचित परामर्श दिनुहुन्छ ।  

- डाक्टर राजु पंगेनी - एमडी, डीएम, छाती रोग विशेषज्ञ, ह्याम्स अस्पताल

अन्तिम अपडेट: बैशाख १३, २०८१

2 Comments

  • Parmesh yadav

    Aug. 3, 2019, 11:10 p.m.

    राजु सरको फोन नं पाउन सके झन् राम्रो हुन्थ्यो होला, किनभने मलाई यो समस्याले धेरै दु:ख दिएको छ /

  •  0 Reply
  • हरि गाैतम

    Aug. 1, 2019, 9:16 a.m.

    याे लेख प्रकाशित गर्नुभएकोमा उज्यालो अनलाइन मिडिया लाई धन्यवाद । मलाई पनि बिगत ३ बर्ष देखि घुर्ने समस्याले सताईरहेकाे छ । मेराे ताैल ६५ के.जी. छ । अब डा. राजु पंगेनी सरलाई भेट्न पाए समस्याको समाधान हुन्थ्यो कि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया