बैंक तथा वित्तीय संस्थाका सीईओहरुकाे स्वच्छता परीक्षण राष्ट्र बैंकले गर्ने

 साउन १४, २०७६ मंगलबार १५:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत सीईओको स्वच्छता परीक्षण आफैंले गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सीईओको स्वच्छता परीक्षण गरी मौद्रिक नीति तय गरिएको बताउनु भएको हो । उहाँले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओको छनौटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पार्नुभयो ।

बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओ बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई बैंकले सीईओ नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गर्नु भयो ।

त्यसैगरी सांसद तेजुलाल चौधरीले गैर कृषकहरुलाई कृषि ऋण प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिकामाथि प्रश्न उठाउनु भएको थियो । उहाँले कृषि ऋणमा बिचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराउनु भयो ।

सांसद चौधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाउनु भयो ।

यसअघि स्वच्छता परीक्षण हुनुपर्नेमा सीईओ छान्ने भएकाेमा सच्याइएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया