दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस्: नेता रावल

 साउन १४, २०७६ मंगलबार १७:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले निर्मला पन्त हत्या प्रकरणदेखि ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका छन् । 

संघीय संसद प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुका साथै विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ मागेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य देवेन्द्रराज कंडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो । उहाँले ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताउनुभयो ।

नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने ‘दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस्’ भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राख्नुभयो ।

त्यसैगरी समिति सदस्य डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन् , भोलि पनि घटिरहन्छन् भनेर गैह्जिम्मेवारी पूर्ण अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? कानुन आफ्नो हातमा लिएर बोल्दै जाने हो भने निर्मलाजस्ता हजारौ निर्मलाहरु बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ?’

त्यसैगरी समिति सदस्य प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरि संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गर्नुभयो ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला विषयान्तर भएको भन्दै जनार्दन शर्माले आपत्ति जनाउँदै अर्को समीक्षात्मक बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारका सम्बन्धमा छलफल गर्न गृहमन्त्री, गृहसचिव  र प्रहरी प्रमुखलाई समितिमा बोलाएको थियो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया