सुदुर पश्चिम र कर्णाली प्रदेशमा रोपाइँ धमाधम, प्रदेश १ र २ मा कम !

 साउन १४, २०७६ मंगलबार २०:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटीकाे पिपल्लाका किसान राेपाइँ गर्दै तस्बिर - विमल विष्ट/उज्यालाे ।

काठमाण्डौ – साउनको दोस्रो हप्तासम्म ८० प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार साउन १२ गतेसम्म सातै प्रदेशमा ८० प्रतिशत धान रोपाइँ भएको हो । यो गएको वर्षको यो समयमा एक प्रतिशतले कम हो । गएको वर्ष यो समयसम्म ८१ प्रतिशत धान रोपाइँ भएको थियो ।

यस वर्ष मनसुन ढिलो भित्रिएको थियो । मनसुन भित्रिन ढिलाइ हुँदा तराईमा कम धान रोपाइँ भएको छ भने सबैभन्दा धेरै उच्च पहाडमा ८४ दशमलव ९२ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै मध्य पहाडमा ८० दशमलव ६६ प्रतिशत र तराईमा ७९ दशमलव ७८ प्रतिशत धान रोपाइँ भएको छ । यो गएको वर्षको यस समयको हाराहारीकै धान रोपाइँ हो ।

सुदुर पश्चिम र कर्णाली प्रदेशमा धेरै !

कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका कृषि वरिष्ठ अर्थ विज्ञ प्राविधिक सवनम सिवाकोटीका अनुसार साउन १२ गतेसम्म सुदूर पश्चिम प्रदेशमा ९४ दशमलव १७ प्रतिशत धान रोपाइँ भएको छ । सुदूर पश्चिमका तराईका जिल्लामा भने ९५ प्रतिशत धान रोपाइँ भएपनि यो गएको वर्षभन्दा तीन प्रतिशतले कम हो ।

यस्तै सुदूर पश्चिमपछि कर्णाली प्रदेशमा पनि धेरै धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा  ९२ दशमलव ४० प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष यस समयमा ८४ प्रतिशत धान रोपाइँ भएपनि यस वर्ष भने केही बढेको छ ।

यस्तै गण्डकी प्रदेशमा ८४ दशमलव ५६ प्रतिशत धान रोपाइँ भएको छ भने प्रदेश ५ मा ८४ दशमलव ६० प्रतिशत धान रोपाइँ भएको केन्द्रका प्रमुख सिवाकोटीले बताउनुभयो ।

यस्तै प्रदेश ३ मा ७८ दशमलव ८३,  प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत र प्रदेश १ मा ७१ दशमलब ६५ प्रतिशत धान रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

प्रदेश १ र २ मा किन कम रोपाइँ ?

यस वर्ष तराईमा धान रोपाइँ कम छ । तुलनात्मक रुपमा सबैभन्दा धेरै धान रोपाइँ हुने प्रदेश १ र २ का तराईका जिल्लामा यस वर्ष कम मात्रै धान रोपाइँ भएको छ ।

साउन १२ गतेसम्म प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत रोपाइँ हुँदा प्रदेश १ मा ७१ दशमलव ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

प्रदेश १ र २ मा धान रोपाइँ कम हुनुको पछाडि असार मसान्तमा आएको बाढी मुख्य कारण हो । बाढीले प्रदेश १ र २ का तराईका धेरै जसो जिल्ला डुबानमा परेको थियो ।

किसानले रोपेको रोपो समेत डुबानमा परेको छ भने धान नरोपिएको खेतमा रोपाइँ गर्न ब्याड छैन । ब्याड नहुँदा थप धान रोप्न कठिनाइ भोगिरहेका किसान डुबानमा परेको रोपो बिग्रनेमा चिन्तित छन् ।

‘बाढीका कारण प्रदेश १ र २ मा कम रोपाइँ भएको छ । कतिपय ठाउँमा रोपो डुबेको छ भने फेरि धान रोप्न ब्याड छैन’, केन्द्रका प्रमुख शिवाकोटीले भन्नुभयो, ‘बाढीका कारण धान रोपाइँ बढ्न सकेको छैन ।’  

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया