संसद बैठकमा विपक्षी सांसदले गरे एक घण्टा नाराबाजी, भाेलिसम्मका लागि बैठक स्थगित

 साउन १५, २०७६ बुधबार १२:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

११ बजेदेखि सुरु भएको बैठकमा विपक्षी दुवै दलले एक घण्टादेखि नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि बैठक स्थगित भएकाे छ । विपक्षी दलकाे विराेधका कारण बैठक बिहीबार दिउँसाे २ बजे बस्नेगरी स्थगित भएकाे छ । 

यसअघी सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ दुवै दलका सांसदहरु बसेको ठाउँबाट जर्‍याकजुरुक उठ्दै विरोध जनाएका थिए ।

सभामुख महराले विपक्षी दलको विरोधबारे आफू र सरकारलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरे पनि दुवै दलका सांसदहरुले बस्न इन्कार गरे ।  
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहे पनि सभामुख महराले शून्य समय प्रारम्भ भएको भन्दै बैठक अघि बढाउन खोजेपछि दुवै दलका सांसदहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।  

सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।

सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मारिएका थिए । यस्तै सर्लाहीमै १३ वर्षीय बालकको मृत्यु प्रकरणमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो । कांग्रेस र राजपाले दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा पछिल्लो समय संसदमा सरकारको विरुद्धमा कार्यगत एकता गरेर अघि बढेका छन् । मिल्ने जति विषयमा मिलेर सरकारको विरोध गर्ने र मिल्न नसक्ने विषयमा दुवै दलले एक अर्काको विरोध नगर्ने सहमति गरेर उनीहरु अघि बढेका हुन् । अहिले पनि दुवै दलका सांसदहरुले रोष्ट्रम अगाडि नाराबाजी गर्दै बैठक अवरुद्ध पारिरहेका छन् ।  
 

 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया