भूकम्पबाट पूर्ण क्षति भएका ७० ओटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न

 साउन १५, २०७६ बुधबार १८:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० ओटाको पुनर्निर्माण सम्पन्न भएको छ । जसमा ३० ओटा सरकारी स्रोत र ४० ओटा भवन एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगका छन् ।   

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भैरहेका बाँकी २१ ओटा भवन चालु आर्थिक वर्षभित्र र एडीबीको ऋण सहयोगमा पुनर्निर्माण भैरहेका बाँकी २९ ओटा भवनहरुको पुनर्निर्माण आउँदो पुससम्ममा सम्पन्न गरिनेछ । 

पुनर्निर्माण तथा प्रबलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ । 

भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरको एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । त्यस्तै ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचनाहरु समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताउनुभयो । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रबलीकरणतर्फ पनि कार्य अघि बढेका छन् । सार्क सचिवालयको प्रबलीकरण सम्पन्न भैसकेको छ । 

सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रबलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसैगरी बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानुन पुस्तकालय भवनहरुको प्रबलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । 

राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रबलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बन्ने बालुवाटार र थापाथली भवनहरुको निर्माण कार्य जारी छ । 

राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भैसकेको छ । सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भैसकेको छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया