‘भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापना पारदर्शी देखिएन, अनुदानकै लागि एककोठे घर धेरै बने’

 साउन १५, २०७६ बुधबार १९:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले भूकम्पपछिको पुनर्निर्माण र  पुनःस्थापनामा पारदर्शिता नदेखिएको ठहर गरेको छ ।

सरकारले दिएको अनुदान लिनकै लागि भूकम्प प्रभावित जिल्लामा बस्नै नमिल्ने घर धेरै बनेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासमा झण्डै ८३ प्रतिशत प्रगति भएको दाबी गरेका बेला ट्रान्सपरेन्सी इन्टरनेशनलले भूकम्प अति प्रभावित १४ जिल्लामा एककोठे घर धेरै बनेको ठहर गरेको हो ।

अनुदानको सही सदुपयोग हुन नसकेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले गाउँमा गुजारा समेत चल्न नसक्नेगरी बनेका घरतर्फ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

डिजाइनको दुरुपयोग गरी अनुदानकै लागि यस्ता घर बनाएको पाइएको ट्रान्सपरेन्सी इन्टरनेशनलको निष्कर्ष छ । एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि बस्न मिल्ने उद्देश्यले डिजाइन गरिएको एककोठे घर धेरैजसो भूकम्प प्रभावितको रोजाइमा परेपछि समस्या भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

काठमाण्डौमा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले गाउँघरमा भूकम्पपछि बनेका धेरै घर बस्नै नमिल्ने भेटिएका बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार भूकम्पको केन्द्रबिन्दु गोरखासहित दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काभ्रे, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, मकवानपुर तथा काठमाण्डौ उपत्यकाभित्र नागरिकका आवश्यकता परिपूर्ति नहुने खालका घर बनेका हुन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा निजी आवास पुनर्निर्माणको काम सन्तोषजनक नभएको समेत उहाँले बताउनुभयो । बस्नकै लागि अर्को भएका, भूकम्पले चर्केको घर मर्मत गरी बसेका तथा शहर बजारमा घर हुनेहरुले अनुदानको रकम तीन लाख लिनकै लागि साना घर बनाएका तर सरकारले मापदण्डलाई कार्यान्वयन गर्न समेत नसकेको रेग्मीको भनाइ छ ।

घर बनाएर अनुदान लिने प्रवृत्तिबाट नागरिक स्तरसम्म भ्रष्ट मानसिकता मौलाएको अध्यक्ष रेग्मीले बताउनुभयो । यसमा सरकार र प्रभावित समेत दोषी रहेका भन्दै अध्यक्ष रेग्मीले अबको बाँकी पुनर्निर्माणमा हुन सक्ने विकृति रोक्न आवश्यक व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

‘नयाँ घरमा भेडाबाख्रा, गाईबस्तुलाई राखेर अर्को भूकम्प आए जीवजन्तु बाँच्ने तर मानिस भने पुरानै घरमा बसेर असुरक्षित रहेकाले मर्नुपर्ने अवस्था आएको छ’, रेग्मीले भन्नुभयो, घरै भन्न नसुहाउने, परिवारका सदस्यसमेत नअट्ने घरको औचित्य छैन ।’ ‘सरकारको मापदण्डका कारण अनुदानमा बनेका एककोठे या दुईकोठे घर बस्न लायक नै छैनन्,’ अध्यक्ष रेग्मीले भन्नुभयो, ‘यी घरले नेपाली मौलिकता समेत मास्ने देखिएको छ । यस्ता एककोठे, दुईकोठे घरले नेपालीपन झल्कने घरको मौलिकता समेत गुमाएका छन् ।’

ट्रान्सपरेन्सी इन्टरनेसनलले २०७३ सालदेखि भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले गएको वैशाखमा एक प्रतिवेदन जारी गरी घर बन्दै गर्दा प्राविधिक र सम्बन्धित पालिकाले अनुगमनमा नगरेको समेत उल्लेख गरेको थियो ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया