प्रतिनिधिसभाको अवरोध हटाउन सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

 साउन १६, २०७६ बिहिबार ९:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठक बोलाउनुभएको छ । 

नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहीदिनदेखि संसद बैठक बस्न नसकेपछि सभामुख महराले बिहीबार दिउँसो १२ बजेपछि सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस संयाजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

बुधबार कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि संसद बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । 

सर्लाहीको बाँके चोकमा विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेस र राजपाका सांसदको माग गर्दै असार २४ गते देखि प्रतिनिधिसभामा नाराबाजी गर्दै आएका छन् । 

यस्तै, राष्ट्रियसभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पारित गर्ने तयारी छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेपछि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया