न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । ललितपुर, धादिङ, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र आगजनी भएको प्रहरीले जनाएको छ ।
ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको हो ।
डोटीको जोरायल गाउँपालिका – १ गोगनपानीमा रहेको एनसेलको टावरमा बुधबार राति आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार बुधबार राति करिब १ बजे टावरमा आगजनी गरिएको हो । आगजनीबाट टावरमा उपकरणहरु जलेर नष्ट भएका छन् ।
कैलालीको धनगढी उप–महानगरपालिका– ६ जालीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । प्रहरीका अनुसार बुधबार राति सवा १२ बजेको समयमा आगजनी भएको हो । आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन् ।
डडेल्धुरामा पनि एनसेलको टावरमा आगजनी भएको छ । आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो । बुधबार राति ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।
यस्तै, धादिङ सिद्धलेक गाउँपालिका –६ सुनौलाबजार डाँडामा रहेको एनसेलको टावर र धुनीबेसी नगरपालिका– ४ देवीस्थानमा रहेको एनसेल टावरमा आगजनी भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पर्वतको मोदी गाउँपालिका– ६ तिलाहार थानाकोटमा रहेको एनसेलको टावरमा पनि बुधबार राति आगजनी भएको छ । आगलागीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका ५ मा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । परिचय नखुलेको मानिसहरुको समूहले विस्फोट र आगजनी गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।