असफल भएको महसुस हुनासाथ राजीनामा दिन्छु : पर्यटनमन्त्री भट्टराई

 साउन १६, २०७६ बिहिबार १३:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काम गर्न असफल भएको महसुस हुनासाथ पद त्याग गर्ने घोषणा गर्नु भएको छ । 

बुधबार मन्त्री पदमा नियुक्त हुनुभएका भट्टराईले भोलिपल्ट बिहीबार सञ्चारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महसुस हुनासाथ पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

बिहीबार बिहानै काठमाण्डाैको बल्खुमा रहेकाे तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उहाँले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महसुस हुनासाथ जिम्मेवारीबाट पछि हट्ने स्पष्ट पार्नुभयो ।

‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिन अथवा म असफल भएँ भन्ने महसुस प्रधानमन्त्रीलाई हुन्छ,’ मन्त्री भट्टराईको भनाई थियो, ‘त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु ।’

मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुखी नेपाली: समृद्ध नेपाल’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताउनु भयो ।

मन्त्री भट्टराईले केही दिनभित्र आफ्नो कार्ययोजना सञ्चार माध्यममार्फत् सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो । उहाँले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कारबाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिनभित्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भयो । मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आदर्श नेताको रुपमा स्मरण गर्ने गरेको बताउनु भयो । त्यहाँबाट पेरिसडाँडामा रहेकाे तत्कालीन माओवादी केन्द्रको कार्यालय पुगेर भट्टराईले जनयुद्धका शहीदहरुको शालिकमा पनि माल्यार्पण गर्नुभयाे । बुधबार पनि उहाँले मन्त्री पदको सपथ लिनेबित्तिकै लैनचौरमा रहेकाे शहीद पार्कमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया